विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्य विद्यार्थीलाई हात चिर्न लगाएको आरोपमा पक्राउ परेकी छन् । उनले परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी थिइन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले वानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा पुष्टि गरेका छन् ।

विद्यालयले उनलाई जागिरबाट निकालिसकेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । उक्त घटनाबारे नयाँ पत्रिका दैनिकले समाचार सार्वजनिक गरेको थियो । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका हुन् ।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले परीक्षा लिएकी थिइन् । परीक्षा लिनु अगाडिदेखि नै उनले कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् ।

नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थी आफैंले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन् । विद्यार्थीले सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिरेका थिए । २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन् ।

जति कम नम्बर आएको छ उति धेरै हात (नाडिमा) चिरा पारिएको छ । घटना सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको बताएको छ । उनी १२ बर्षदेखि एकेडेमीमा पढाउँदै आएकी थिइन् ।