काठमाण्डु–अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका लागि श्रोतको दबाब रहेको स्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको अर्थ समिति बैठकमा मंगलबार उनले बजेटका लागि श्रोतको समस्या रहेको बताए । राष्ट्रिय योजना आयोगले १८ खर्ब ९० अर्बको सिलिङ तोकेको जानकारी दिँदै उनले बजेटका लागि श्रोत नपुग्ने स्पष्ट गरे ।
राजश्वले १३ खर्बको मात्र श्रोत धान्न सक्ने अवस्था विद्यमान रहेको वाग्लेले बताए । ‘यो वर्ष १८ खर्ब ९० अर्ब हाराहारीको सिलिङ दिइएको छ । राजश्वले १३ खर्बको मात्र श्रोत धान्न सक्ने अवस्था छ’, वाग्लेले भने, ‘बाँकी रहेको ७ खर्ब हाराहारीको स्पेस हाम्रो लागि मुख्य चुनौतीका रुपमा छ ।’
श्रोतको अभाव पूर्तिका लागि चालु आर्थिक वर्षको बजेट खर्च गर्न इमर्जेन्सी मोडमा काम गरिएको उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले बजेटमा अस्वभाविक अंक राख्ने परम्परा आफूले तोड्न चाहेको सेमत बताए । सरकारले चालु आर्थिक वर्षका लागि साढे १९ खर्बभन्दा बढीको बजेट विनियोजन गरेकामा १६ खर्ब बराबर मात्र खर्च गर्न सकिने अवस्था रहेको वाग्लेको भनाइ थियो ।
उनले २ खर्ब पुँजीगत खर्चले जनताका अपेक्षाअनुसार काम गर्न सकिने अवस्था नरहेको पनि स्पष्ट गरे ।




प्रतिक्रिया