काठमाण्डू– विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ने उपस्थित नभएपछि प्रतिनिभिसभा बैठक स्थगित भएको छ ।
बोल्न रोष्ट्रममा उभिएका एमाले सांसद राजेन्द्रकुमार राईले संसदमा अर्थमन्त्रीको खोजी गरे । उनले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका अर्थमन्त्रीको अनुपस्थितिमा छलफल अगाडि बढाइनुको औचित्य नभएको अडान राखे । उनले कहिले प्रधानमन्त्री बालेन्द्र शाह नआउने र कहिले अर्थमन्त्री नआउने गरेको भन्दै मुलुक चलाउने जिम्मेवारी आफूहरुलाई दिन माग गरे ।
सभामुख डोलप्रसाद अर्याल (डिपीले अर्थमन्त्री वाग्ले आउँदै गरेको सूचना प्राप्त भएको भन्दै राईलाई अघि बढ्न भने । तर, राइले मानेनन् । त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरे ।
‘जसले सिद्धान्त र प्राथमिकता पेश ग-यो । उ यहाँ नहुँदा मैले कसरी कुरा राख्ने । सभामुख महोदय, तपाईंलाई सुनाएर हुन्छ ? माननीय सदस्यहरुलाई सुनाएर हुन्छ ? त्यसैले सभामुख महोदय म तपाईंर्लाइ निवेदन गर्छु, आग्रह गर्छु , अर्थमन्त्री नआउँदासम्म यही ड्यासमा बस्छु’, उनले सभामुखलाई प्रश्न गर्दै भने, ‘जुनजुन थिति र परम्परा छ । म त्यसलाई बदल्न चाहन्न । किन चाहन्न, यहाँ हेप्ने काम भयो क्या । मैले अस्ती पनि भनेको नि त प्रधानमन्त्री नआउने । अर्थमन्त्री नआउने ? तपाईं पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ ?
उनले रास्वपाले देश चलाउन नसक्ने भएकाले आफूहरुलाई जिम्मा दिन भने । ‘गम्भीर प्रश्न बनिसक्यो, अब प्रतिपक्षीलाई दिनुस् । हामी चलाउँछौ यो देश, हिम्मत छ हामीसँग यो देश चलाउने । हिजो पनि चलाएको हो, आज पनि चलाउँछौं । प्रधानमन्त्री पनि नआउने, अर्थमन्त्री नआउने अनि कसरी चल्छ यो सदन ?’ ।
सुन्ने व्यक्ति नै नभई आफूले बोलेर केही नहुने भन्दै उनी चुपचाप रोष्ट्रममा उभिरहे । ‘आज उहाँले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा मैले छलफल गरेर के उपलब्धी हुन्छ र ? हुन्न । त्यसैले गर्दाखेरि उहाँ नआएसम्म बोल्दै बोल्दिन’, राईले भने ।
सभामुखले फेरि भने, ‘माननीय सदस्य,माननीय मन्त्री आउँदै हुनुहुन्छ । आफ्नो कुरा राख्दै गर्नुस । माननीय सदस्य के गरौं । अर्थमन्त्रीज्यू आउँदै हुनुहुन्छ । हजुरले सुरु गर्दै गरौं । अर्थमन्त्री आएपछि समय काउण्ट गरौंला ।’
तर, राई बोल्दै नबोली मुसुमुसु हाँसेर रोष्ट्रममा उभिए । सभामुखले फेरि १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरे ।




प्रतिक्रिया