काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले कर र व्यापार जोगी र भैसीको कथा जस्तै भएको बताएका छन् । आन्तरिक राजस्व विभागद्वारा आइतबार काठमाडौंमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको राजस्व सुधार प्रणाली दक्षिण एशियाकै पहिलो भएको उल्लेख गदैै व्यापारीलाई करदेखि नडराउन आग्रह गरे ।
उनले भने, ‘हामीले करमा व्यापक रुपमा सुधार गर्न खोजेका छौं, तर त्यसबाट कतिपय व्यापारीहरु आत्तिएको देखिन्छ’ उनले भने, ‘व्यापार र कर, जोगी र भैसीको कथा जस्तै भएको छ । जोगीदेखि भैंसी डराउने, भैसीदेखि जोगी । तर व्यावसायीले करलाई त्यसरी बुझ्न हुन्न । कर तिर्न जानु पर्दा व्यावसायीहरु निन्याउँरो हुने होइन, शिर ठाडो पारेर जानुपर्छ ।’
खतिवडाले आफू अर्थमन्त्री भएपछि निर्यातमा अनुदान शुरुवात गरेको स्मरण गराए । ‘म अर्थमन्त्री भएपछि पहिलो पटक भारतमा निर्यातमा अनुदान शुरु गरेँ, निर्यातमा व्यावसायीले २० प्रतिशत अनुदान पाइरहेका छन’ उनले भने, ‘तर व्यावसायीले अनुदान लिनकै लागि निर्यात बढी देखाउने गरेका छन् । मुसुरो उत्पादन भन्दा निर्यात बढी देखियो, त्यस्तो गर्न त भएन नी । अनुदानकै बढी देखाउन थालेपछि त्यसमा बैंकिङ कारोबार थालिएको छ ।’
‘दुई वर्ष यता राजस्व २० प्रतिशतले वृद्धि भएको छ, शुन्यबाट यति छोटो समयमा २० प्रतिशत पुग्नु चानेचुने कुरा होइन’ उनले भने, ‘सरकार राजस्वप्रति सन्तुष्ट छ, तर अहिले नै उत्साहित भने भइहाल्नु हुन्न ।’
अर्थमन्त्री खतिवडाले मुलुकको विकास, निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई दीगो र प्रभावकारी बनाउन आवश्यक आर्थिक व्यवस्था गर्न सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउनैपर्ने स्पष्ट पारे ।




प्रतिक्रिया