वरदान बन्न सक्छ कृत्रिम गर्भाशय

वरदान बन्न सक्छ कृत्रिम गर्भाशय


काठमाण्डु-कृत्रिम साल र गर्भाशयले समयअगावै जन्मिने शिशुको ज्यान बचाउन सकिने अध्ययनले पत्ता लागेको छ ।

अमेरिकाको पेन्सिल्भेनियास्थित चिल्ड्रन्स हस्पिटल अफ फिलडेल्फिया (सीएचओपी) का वैज्ञानिकहरू पूरा महिना नपुगी अत्यन्तै अगाडि जन्मिने जोखिममा भएका शिशुहरूका निम्ति यस्तो अध्ययन गरेका हुन् ।

उनीहरू नवजात शिशुको विकासका निम्ति कृत्रिम वा अतिरिक्त गर्भाशयको विकास गर्दै छन् । यसको उद्देश्य गर्भाधानदेखि जन्मिँदासम्म भ्रुणको विकास गर्नु होइन । चाहेर पनि त्यसो गर्न सम्भव छैन । यसको उद्देश्य खालि पूरा समयभन्दा पहिले जन्मने शिशुको जीवित रहने दरलाई बढाउनु हो किनकि यस्ता शिशुहरूले जीवनभर कैयौँ किसिमका स्वास्थ्य समस्याहरूको सामना गर्ने जोखिम हुन्छ ।

सामान्य र स्वस्थ गर्भावस्था लगभग ४० सातासम्म चल्छ । सैँतीस सातालाई शिशुका निम्ति पूर्ण अवधि मानिन्छ । तर गर्भावस्थाका क्रममा कहिलेकाहीँ विभिन्न जटिलताहरू देखा पर्छन् र समयअगावै शिशुको जन्म हुन्छ ।

सौभाग्यवश नवजात शिशुहरूका निम्ति चिकित्सा क्षेत्रमा पछिल्ला केही दशकमा ठूलो प्रगति भएको छ । समयअगावै जन्मिएका अधिकांश शिशुहरू सामान्य समस्याहरू लिएरै अस्पतालबाट डिस्चार्ज हुने गर्छन् । यससम्बन्धी ताजा तथ्याङ्कअनुसार २२ सातामा जन्मिएका तर उच्च हेरचाह प्राप्त गरेका ३० प्रतिशत शिशु बाँचेका छन् ।

‘इमान्दारीका साथ भन्नुपर्दा २८ साताका वा २७ साताकै शिशुले पनि धेरै राम्रो गरेका छन’, क्यान्सस सिटीस्थित चिल्ड्रन्स मर्सी अस्पतालकी नवजात शिशुविशेषज्ञ स्टेफनी कुकोरा भन्छन् ।

त्यस्ता शिशुहरूले प्रायः जटिल स्वास्थ्य चुनौतीहरूको सामना गर्छन्। जन्मिँदाखेरि तिनको तौल ९०० ग्रामजति हुन्छ । मुटु, फोक्सो, पाचनसम्बन्धी अङ्गहरू र मस्तिष्कसमेत सघन उपचारबिना जीवित राख्न सकिने गरी विकसित भइसकेका हुँदैनन् ।

यस्तोमा चाँडोचाँडो देखिने समस्यामा ’नेक्रोटिसिङ इन्टेरोकोलिटिस’ भनिने आन्द्रामा हुने सङ्क्रमण पनि पर्छ, जसका कारण आन्द्राका कोषिकाहरू पोल्ने र मर्न थाल्नेजस्ता समस्या देखा पर्छन् ।

यस उमेरका शिशुमा सङ्क्रमण, सेप्सिस वा सेप्टिक शक भनिने फोक्सो, मिर्गौला, कलेजो र अन्य महत्वपूर्ण अङ्गमा क्षति पुग्ने गरी अचानकसँग रक्तचाप घट्ने समस्या हुने खतरा अधिक हुन्छ ।

त्यस्तै यस्ता शिशुमा हुन सक्ने अन्य जटिल समस्यामा सेरेब्रल पोल्सी, मध्यमदेखि गम्भीर स्तरका सिकाइसम्बन्धी समस्या, दृष्टि तथा सुनाइसम्बन्धी समस्या तथा दम देखा पर्न सक्छ ।

अरू त कुरै छाडौँ, शिशुको ज्यान बचाउनका निम्ति तयार पारिएको अत्याधुनिक अक्सिजनयुक्त भेन्टिलेशनले पनि यस्ता शिशुको कोमल फोक्सोमा क्षति पु¥याउन सक्छ ।

मिशिगन विश्वविद्यालयको सीएस मट बालअस्पतालका शल्यक्रिया, प्रसूति एवं स्त्रीरोग विज्ञानका प्राध्यापक जोर्ज माइकलिस्का भन्छन्, ‘प्रारम्भिक गर्भावस्थामा फोक्सोको विकास भइरहेको हुन्छ र त्यो तरल पदार्थले भरिएको हुनुपर्छ ।’

यस्ता शिशुको आँखाको रेटिनालाई पोषण प्रदान गर्ने रक्तवाहिनी नली पुरै विकसित भइसकेको हुँदैन। अत्याधिक अक्सिजनले पनि नयाँ र असामान्य रक्तवाहिनी नलीलाई क्षति पु¥याउन सक्छ र अन्ततः रेटिनालाई अलग्याइदिने स्थिति बन्न सक्छ ।

कृत्रिम गर्भाशय र साल विकासको उपाय फोक्सोको सुरक्षासँग जोडिएको छ । यसले शिशु पहिलो श्वास फेर्न तयार नहुँदासम्म भ्रूणलाई एउटा सुरक्षित वातावरणमा विकास हुन समय दिने उद्देश्य राख्दछ ।

सीएचओपीका वैज्ञानिकहरू भ्रूणसम्बन्धी सर्जन एलन फ्लेकको नेतृत्वमा काम गरिरहेका छन् । उनीहरू त्यस्ता शिशुलाई गर्भाशयमा हुने तरल पदार्थको नक्कल गरी तयार पारिएको तरल पदार्थयुक्त भाँडोमा डुबाएर राख्ने योजनामा छन् ।

शल्यचिकित्सकहरूले त्यसपछि शिशुको नालका ससाना रक्तवाहिनी नलीलाई एक्मोजस्तै मशीनसँग जोड्नेछन् । त्यसपछि प्राकृतिक जस्तै गरी शिशुको मुटुले प्रणाली वरिपरी रक्त प्रवाह गर्न थाल्छ ।

अर्कोतिर मिशिगन विश्वविद्यालयका जोर्ज माइकलिस्काको समूह उनीहरूकै शब्दमा कृत्रिम सालको विकास गर्दै छन् । पूरै शरीरलाई तरलमा डुबाउनुको साटो उनीहरू श्वासनलीको माध्यमबाट शिशुको फोक्सोलाई विशेष किसिमले विकास गरिएको तरल पदार्थले भर्ने योजनामा छन् । उनीहरूले विकास गरेको प्रणालीले परम्परागत ‘एक्मो’ मेसिनले झैँ घाँटीको नसाको माध्यमबाट मुटुको सबै रगत झिक्छ र नाइटोको नसामार्फत् अक्सिजनयुक्त रगत भित्र पठाउँछ ।

हालै भेडामा यसको परीक्षण गरिएको थियो । मेकानिकल भेन्टिलेशनमा स्थानान्तरण गर्नुअघि ती भेडाहरू १६ दिनसम्म बाँचे । उक्त अवधिमा तिनको फोक्सो, मस्तिष्क र अरू अङ्गहरू राम्ररी विकसित भएको पाइयो ।

अस्ट्रेलिया र जापानमा क्रियाशील तेस्रो समूह कृत्रिम गर्भाशयको विकास गरिराखेको छ । त्यसलाई ‘एक्स भिभो यूटराइन इन्भाइरमन्ट (ईभीई) थेरपी’ भनिन्छ। यसले अन्य दुई समूहको तुलनामा अझ छिटो जन्मिने र अस्वस्थ नवजात शिशुको उपचार गर्ने उद्देश्य राख्छ ।

कृत्रिम साल र गर्भाशयको अधिकांश परीक्षण भेडाका भ्रुणहरूमा गरिएका छन्, जो हस्तक्षेप नगरिएको खण्डमा स्वस्थ हुन्थे र आफ्नो पूरा अवधि भोगेका हुन्थे । तर अविकसित अवस्थामा जन्मिने शिशु आमा वा भ्रूणमा आउने स्वास्थ्यसम्बन्धी जटिलताका कारण चाँडो जन्मिएका हुन्छन् । त्यसैले तिनको उपचार अधिक जटिल हुन्छ ।

उक्त समूहले हालै अमेरिकाको औषधिसम्बन्धी निकाय एफडीएसँग मानवमाथिको परीक्षणलाई अघि बढाउन अनुमति मागेको छ । माइकलिस्काको समूहले मानवको नवजात शिशुको रक्तवाहिनी नलीहरूसँग अनुकूलित हुने गरी आफ्नो प्रणालीलाई अझै सूक्ष्म बनाउँदै छ । माइकलिस्का मानवमाथि परीक्षण सुरु हुन तीनदेखि चार वर्ष लाग्ने आशामा छन् ।

यसका विचारणीय नैतिक पक्षहरू पनि छन् । हालैको एउटा आलेखमा स्टेफनी कुकोरा विशिष्ठ प्रविधिबीच पनि अद्वितीय नैतिक चुनौती पैदा गर्ने जटिल अन्तरहरू रहेको तर्क गर्छिन् । उदाहरणका निम्ति ईभीई र सीएचओपी दुवै समूहले बनाएको कृत्रिम गर्भाशय र सालमा एउटा नली जोड्नुपर्ने हुन्छ । जन्मनेबित्तिकै नालको रक्तवाहिनी नली बन्द हुने भएकाले शिशुलाई तत्काल आमाबाट झिकेर मशीनमा सार्नुपर्ने हुन्छ । अन्यथा योनिबाट जन्म दिन सक्ने आमाको पनि शल्यक्रिया गराउनुपर्ने हुन्छ ।

योनिबाट जन्म दिने तरिकको तुलनामा यस प्रक्रियामा धेरै जोखिम पनि छ र यसमा पूर्वसहिमतिको सवाल पनि उठ्छ ।

अर्को कुरा चाहिँ तत्काल विस्तारित प्रणालीमा स्थानान्तरण गर्दा उक्त शिशुलाई परम्परागत उपचार पद्धतिले कस्तो प्रभाव पाथ्र्याे भन्ने जाँच्न सकिँदैन ।

यसको अर्थ परम्परागत उपचार पद्धतिमा राम्रो सुधार हुन सक्ने शिशुको पनि परीक्षण नभइसकेको नयाँ प्रविधिमार्फत् उपचार गर्न सकिन्छ भन्ने हो । यसमा कम जोखिम छ । माइकलिस्का विस्तारित प्रणाली मृत्यु र रोगको जोखिममा रहेका २२–२३ साताका गर्भावस्थाका शिशुका निम्ति उपयुक्त हुने ठान्दछन् ।

यो पद्धतिमा नाइटो नभई घाँटीको नसाबाट रगत झिकिने भएकाले कृत्रिम सालमा शिशुलाई राख्न चिकित्सकहरूले बढी समय प्राप्त गर्दछन् । यसले चिकित्सकहरूलाई शिशुको जन्मपछिको जोखिमलाई तहअनुरूप व्यवस्थापन गर्न अवसर दिन्छ ताकि सबैभन्दा बिरामी शिशुलाई यस परीक्षणअन्तर्गतको उपचार शाखामा स्थानान्तरण गर्न सकियोस् । शिशुलाई पहिले परम्परागत तरिकाले उपचार गरेर त्यसमा राम्रो गर्न नसकेको खण्डमा मात्रै कृत्रिम सालमा स्थानान्तरण गर्न पनि सकिन्छ । अन्य दुई प्रविधिको विपरीत आमाले शिशुलाई योनिकै माध्यमबाट जन्म दिन पनि सक्छिन् ।

जुनसुकै प्रविधि पहिले परीक्षणको स्थितिमा पुगे पनि सबैभन्दा पहिले चौबीस साताभन्दा अगावै जन्मिएको शिशुमाथि परीक्षण हुने सम्भावना छ । त्यस्तो शिशुलाई परम्परागत उपचारमार्फत् जोगाउन सक्ने सक्ने सम्भावना कम हुन्थ्यो ।

सफल भएको खण्डमा यी तीनवटै प्रविधि समयअगावै बच्चा जन्माउने स्थितिमा पुगेका मातापिताका निम्ति वरदान बन्न सक्छन् । बीबीसीको सहयोगमा