कलाकारको दशैँ : घरपरिवारमै सिमित रहेर मनाउँदै


काठमाण्डु – नेपालीहरुको घरदैलोमा दशैँ आईपुगेको छ । कोरोनाको कहरले विगतको बर्ष राम्रोसंग दशैँ मनाउन नपाएपनि यो बर्ष अलि सहज भएको छ । धेरैले योवर्षको दशैँलाई रमाइलोसंग मनाउने योजना बनाएका छन् । त्यसो त हाम्रा कलाकारहरुपनि दशैँको योजना बनाउदै छन् । कोरोना नभएको भए अहिले विदेशका कार्यक्रममा व्यस्त हुने कलाकारहरु यो बर्ष नेपालमै दशैँ मनाउँदैछन् ।

नेपालभित्र भने सानातिना कार्यक्रममा कलाकारहरु सहभागि हुन थालेका छन् । चलचित्र उद्योग विस्तारै खुल्दैछ । म्यूजिक भिडियो र गितहरुका काम भने भइरहेका छन् । लोक गायिका भुमिका गिरी यो पटकको दशैँ काठमाण्डुमै मनाउने योजनामा छिन् ।

उनको भनाई उनकै शब्दमा:  ‘दशैंका लागि भनेर यो वर्ष विशेष योजना बनाएकी छैन ।अघिल्लो वर्षतिर सधै गाँउमा गइन्थ्यो । तर यो वर्ष काठमाण्डु मै मनाउने सल्लाह भाको छ । परिवारका सबै जना यतै हुनुहुन्छ । दशैंको अघिल्लो दिन एक, दुईवटा कार्यक्रम छन् ।

कोरोना महामरीले गर्दा हाइफाई गरेर दशैं मनाउने माहोल पनि छैन । त्यसैले अरुलेजस्तै टीका लगाउने, आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिएर नै दशैं मनाउँदैछु । म ड्रिङ्स गर्दिनँ । पहिला केटाकेही हुँदा दशैं आयो भन्ने वितिक्कै नयाँ लुगा किन्ने भन्ने हुन्थ्यो । अहिले पनि दशैंमा सपिङ गर्ने, घरमै बस्ने टिका लगाउने, परिवारसँगै रमाइलो गर्ने योजना छ । ’

यस्तै मोडल करिश्मा ढकालपनि काठमाण्डुमै दशैँ मनाउने योजनामा छिन् ‘मेरो दशैं काठमाण्डुमै हुन्छ । परिवारका सबै जना यतै हुनुहुन्छ । कोरोना महामारीका कारण यो वर्ष विशेष योजना केही बनाएको छैन । दशैमा पारिवारिक भेटघाट गर्ने, तास खेल्ने, ड्रिङ्स गर्ने, रमाइलो गर्ने हो ।

दशैंमा नयाँ लुगा लगाउनै पर्छ भन्ने मलाई लाग्दैन । किनकी हामीले सधै राम्रै लगाइरहेका हुन्छौं । छायांकनका क्रममा प्रशस्त पहिरनहरु किन्नु पर्ने भएकाले पनि दशैंकै लागि भनेर सपिङ गर्दिनँ । यसैले अन्य समयको जस्तै दशैंमा पनि सामान्य पहिरन लगाएर दशैं मनाउने गर्छु ।’

नायक प्रमोद अग्रहरी भने यो नवरथामा ब्रत बसेका छन् । उनी भन्छन्,  ‘दशैंको त्यस्तो केही योजना बनाएको छैन । दशैं मांसहारीका लागि विषेश होला । तर, आफू त साकाहारी परियो । म नौरथामा चाहीँ ब्रत बस्छु । ९ दिनसम्म दुधबाहेक अन्य केही खानेकुरा खाँदिन ।

त्यसैले एकदुई दिनमा घर परासी जान्छु, परिवारसँग समय विताएर काठमाण्डु फर्किन्छु । त्यहि हो, पहिलेको जस्तो दशैं मनाउने माहोल पनि छैन । त्यसैले घरमै बसेर परिवारसँग रमाइलो गर्ने हो । हामीले चाहिँ एक दिनमात्रै दशैं मनाउँछौं । टिकाको दिन । पूर्णिमाको दिनसम्म चाहिँ मनाउँदैनौं ।’

नायक सौगात मल्ल भने दशै मनाउन गृहजिल्ला नवलपरासी जाने तयारीमा छन् । पश्चिम नवलपरासीको परासीमा उनले यो बर्षको दशैँ मनाउँदै छन् । ‘दशैंको विशेष योजना केहि छैन । दशैंमा घर जाने योजना छ । टिकाको एक दुई दिन अघि परासी जान्छु ।

घर परिवारसँग बसेर टिका लगाउने, ठूलाबाट आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, रमाइलो गर्ने त्यहि त हो । मलाई दशैंमा सपिङ चाहिँ गर्नैपर्छ जस्तो लाग्दैन । हामीले प्राय सधै सपिङ गरिरेहेका हुन्छौं । दशैलगत्तै चाहि सुटिङहरु छन् । हाललाई त्यस्तो कुनै पनि योजना छैन ।’

यस्तै संगीतकार चेतन सापकोटा पनि हेटौडा पुगेर दशैँ मनाउदैँ छन् । मुलघरमा पुगेर दशैँ मनाउने उनले सुनाए । ‘परीवारसँग मनाउने चाड हो । त्यसैले मूलघर हेटौंडा जान्छु । बुबाआमाको हातबाट टिका लगाउने, परिवारसँग रमाइलो गर्ने हो । अहिले अलि स्वास्थ्यमा समस्या देखिएका कारण ड्रिङ्स गर्न मिल्दैन । दशैं पहिले जस्तो भड्किलो गरेर मनाउने माहोल पनि छैन । दशैंपछि गाउँमै गीतको सुटिङ गरेर तिहार मानेर मात्र काठमाण्डु फर्किने योजना छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement