काठमाण्डु – भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण गर्न मंगलबार शिलान्यास गरिएको छ ।
अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास काठमाण्डुका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरे ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र समाजसेवीहरूको पनि उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु. ३.१८८ करोड परियोजना लागतमा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको निर्माण हुँदैछ ।
भारत सरकारको अनुदान सहयोग कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवं छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचना सहितको ३ तल्ले भवनको निर्माणमा उपयोग गरिनेछ । परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको छ ।
परियोजनालाई अरुण गाउँपालिका भोजपुरमार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरूले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्नेछ ।
सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरूमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ । यीमध्ये ९३ वटा परियोजनाहरू कोशी प्रदेशमा छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरूलाई १ हजार ४९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहार स्वरूप प्रदान गरेको छ, जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कूल बस भोजपुरमा उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको जनाइएको छ ।




प्रतिक्रिया