सीमामा हुने अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्री अर्यालको निर्देशन

सीमामा हुने अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्री अर्यालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित सीमा सुरक्षा गुल्मको सोमबार स्थलगत निरीक्षण भ्रमण गरेका छन् ।

मंगलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा गृहमन्त्री अर्याल सोमबार रुपन्देहीको भैरहवा आएका हुन् ।

मन्त्री अर्यालले सोमबार एकीकृत जाँच चौकीको निरीक्षण भ्रमण गर्नुभन्दा पहिले लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखहरूको उपस्थिति थियो ।

जाँच चौकीको अवलोकन गर्दै मन्त्री अर्यालले त्यहाँका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग कुराकानी गर्दै जाँच चौकीको भौतिक प्रगति तथा निर्माण हुन लागेको जाँच चौकीबाट उपलब्ध हुने सेवाबारे जानकारी लिएका थिए । गृह मन्त्रालयको सचिवालयको अनुसार निरीक्षणका क्रममा प्रमुख भन्सार अधिकृत पौडेलले हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराएका थिए ।

मन्त्री अर्यालले सोमबार नै सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, डण्डा पुगी समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिए । निरीक्षणकै क्रममा मन्त्री अर्यालले त्यहाँका गुल्म प्रमुखलाई नेपाल–भारत सीमामा हुन सक्ने अवाञ्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने दु:ख–हैरानीबारे समेत सचेत सहज आवतजावत गराउन पनि निर्देशन दिए ।

मन्त्री अर्यालले सीमाबाट हुन सक्ने मालवस्तुको अवैध ओसारपोसार, खुला सीमानाका कारण हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखहरूलाई निर्देशन दिए ।