प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा दिल्लीमा

प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउन परराष्ट्रमन्त्री राणा दिल्लीमा


काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् ।

 केही दिनदेखि युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा जर्मनीको राजधानी बर्लिनबाट सिधै नयाँदिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमण सकेर भारतमा भ्रमणका लागि पुगेकी हुन् । परराष्ट्रमन्त्री भएपछि राणाको यो दोस्रो भारत भ्रमण हो ।

बिहीबार बिहान नयाँदिल्लीमा ओर्लिएपछि राणालाई विमानस्थालमा भारतस्थित नेपाली दूतावासका अधिकारी र भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणको तयारी स्वरूप उनी भारत गएकी हुन् । दिल्लीमा रहँदा मन्त्री राणाले भारतका विदेशमन्त्री एस जयशंकरदेखि उच्च तहका व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने तयारी छ । तर, भेटघाटको समय तालिका हालसम्म तय भएको छैन । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छ ।

भारतमा हुने आर्थिक सम्मेलनमा परराष्ट्रमन्त्री राणाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो)को आयोजनामा शुक्रबार हुने सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाको भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबीच भेटघाट भएको थियो ।

भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणलगायत विषयमा कुराकानी भएको परराष्ट्र स्रोतले जानकारी दियो । भारतीय संचार माध्यमले भारतीय समकक्षी जयशंकरसँग मन्त्री राणाले भेट्न सक्ने उल्लेख गरेका छन् ।

समाचार एजेन्सी एएनआईले आउँदो जनवरी दोस्रो साता प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न सक्नेगरी प्रस्तावित मितिमा दुई मन्त्रीबीच छलफल हुने उल्लेख गरेको छ ।

सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र चीनसँग भएको बेल्ट एन्ड रोड (बीआरआई) सहकार्य फ्रेमवर्क सम्झौतालाई लिएर बहस भइरहेका बेला परराष्ट्रमन्त्री राणाको भारत भ्रमण गएको हुन् ।

प्रधानमन्त्री ओलीले १७-२० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दा दुई देशबीच बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो ।

चीनबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी थिइन् ।

राणाले यसअघि भदौ २ मा भारतको पाँच दिने औपचारिक भ्रमण गरेकी थिइन् । उपचारका लागि भारत जाने भनिए पनि त्यस भ्रमणलाई भारतले द्विपक्षीय बनाएको थियो ।

भ्रमणका क्रममा समकक्षी जयशंकरसँग छलफल हुनुका साथै प्रधानमन्त्री मोदीसँग पनि भेट भएको थियो । दिल्लीले उनलाई निकै महत्व दिएको थियो ।