सुरक्षा व्यवस्था कायम राख्न सुरक्षा निकाय असफल हुदै, गुुप्तचर विभागको भुमिका झनै कमजोर


काठमाडौं– राजधानीलगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरे पनि शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न उब्जिएको छ ।

 

 

शुक्रबारयताका ४ दिनमा मात्रै राजधानीमा झन्डै एक दर्जन विस्फोट भएका छन् । कडा सुरक्षा जांचबीच कहाबाट विस्फोटक पदार्थ भित्रिरहेको छ भन्ने प्रश्नसमेत टड्कारो भएको छ ।

 

 

कमजोर गुप्तचर संयन्त्रका कारण घटनाअगावै सूचना नपाउदा प्रहरीले आवश्यक रणनीति बनाउन नसकेको एक उच्च प्रहरी अधिकारी दाबी गर्छन । गृह मन्त्रालयमा शनिबार बसेको केन्द्रीय कमान्ड पोस्टको बैठकमा पनि गुप्तचर संयन्त्र कमजोर भएको विषय उठेको थियो ।

 

 

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउनेबित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर गरेर साखुल्ले बन्न खोज्ने प्रवृत्ति पनि छ,’ स्रोत भन्छ, ‘यसले पनि सुरक्षा चुनौतीलाई सही रूपमा सम्बोधन गर्नबाट रोकेको छ ।’ सुरक्षा निकायहरूबीचको कमजोर समन्वय र अस्पष्ट सरकारी निर्देशनले पनि निर्वाचन सुरक्षा कमजोर बनेको छ ।

 

‘बलियो सुरक्षा व्यवस्था छ भन्नेमा जनता आश्वस्त नभएका कारण स्थानीय तहको निर्वाचनमा भन्दा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम मत खस्यो,’ राजनीतिक विश्लेषकहरू भन्छन, ‘सुरक्षा व्यवस्था अझै कमजोर भयो भने दोस्रो चरणमा झनै कम मत खस्न सक्नेछ ।’

 

 

पहिलो चरणको निर्वाचन अवधिभर धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइँदा पनि राजधानीको सुरक्षा व्यवस्था कमजोर देखिएको हो । पहिलो चरणको निर्वाचनलगत्तै काठमाडौंमा उच्च सुरक्षा सतर्कता नबढाइएकाले नेकपा (विप्लव) समूहले त्यसैको फाइदा उठाएको प्रहरी अधिकारी बताउँछन्।

 

गुप्तचर विभागको मुख्यालय

राजधानी भित्रिने नाकामा कडा सुरक्षा जांच र उपत्यकामा विप्लव समूहमाथि कडा निगरानी बढाइँदा पनि एकपछि अर्को विस्फोटका घटना कसरी सम्भव भयो त ?

 

राजधानीमा विस्फोट गराउन प्रयोग भएका विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा जम्मा गरिएको प्रहरी स्रोतको दाबी छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार राति मात्रै उपत्यकाका १८१ स्थानमा सुरक्षा जांच र खानतलासी गरिएको थियो ।

 

 

काठमाडौंका ११४, ललितपुरका ३९ र भक्तपुरका २८ स्थानमा आइतबार साँझदेखि सोमबार बिहानसम्म दुई चरणमा खानतलासी गरिएको थियो । प्रहरीले काठमाडौं उपत्यका भित्रिने मुख्य नाका जगाती, फर्पिङ, नागढुंगा, जर्सिङपौवा, टोखा, मुड्खु, भैंसेपाटीलगायत सबै नाकामा जांचपडताल कडा पारेको छ ।

 

प्रहरीको जांच र खानतलासी प्रभावकारी नहुनाले पनि सुरक्षा स्थिति कमजोर बनेको पूर्वडीआईजी केशव अधिकारी बताउछन् । उनका अनुसार प्रविधिबिना हातैले गरिने छामछुमबाट केही हात नपर्ने उनको भनाइ छ ।

 

 

उपत्यकामा करिब ९ लाख हाराहारी सवारीसाधन रहेको र त्यति धेरै सवारीको जांच प्रविधिबिना प्रहरीले मात्र गर्नै नसक्ने उनको तर्क छ । ‘ढिलो गरी सुरु गरिएको सुरक्षा जांच र पर्याप्त सूचना अभावले विस्फोटका घटना रोकिन नसकेका हुन्’ उनी भन्छन्।

 

 

प्रहरी स्रोतका अनुसार विप्लव समूहमाथि प्रहरीको निगरानी बढेपछि उसले पछिल्ला दिनमा भाडाका अपराधी प्रयोग गरेर विस्फोट गराइरहेको छ । तर भाडाका मान्छे को हुन् र तिनीहरू कसरी परिचालित भइरहेछन् भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

 

 

विप्लव समूहलाई हेर्ने प्रस्ट दृष्टिकोण नहुनाले पनि प्रहरीले उच्च मनोबलका साथ काम गर्न सकिरहेको छैन । ‘गृह मन्त्रालयले प्रस्ट निर्देशन नदिदा सुरक्षा निकाय अलमलमा छन्,’ पूर्वडीआईजी अधिकारी भन्छन्, ‘उनीहरूले तत्काल सही एक्सन लिन सकिरहेका छैनन् ।’

 

 

स्थानीय तहको निर्वाचन क्रममा पनि ठूलो संख्यामा विप्लव माओवादीका नेता–कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये अधिकांशमाथि सार्वजनिक अपराधमा मुद्दा चलाइयो । तर सबैजसो चुनावलगत्तै केही हजार धरौटी बुझाएर छुटे ।

 

‘त्यसरी छुटेकाहरूको मनोबल पछिल्लो निर्वाचनमा झनै उच्च भएको देखिन्छ,’ अधिकारी भन्छन्, ‘स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराइयो भनेर सुरक्षा निकायले पनि आसन्न चुनावलाई गम्भीरतासाथ ध्यानपूर्वक हेरेनन् र अहिलेको स्थिति आइर्पयो ।’

 

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशी भने प्रहरीको उच्च सुरक्षा सतर्कताका कारण विस्फोटका घटनामा कमी आएको दाबी गर्छन् । ‘यति धेरै जांच र खानतलासी नभएको भए अझै धेरै पडकिन्थ्यो,’ उनले भने ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त नेपाली सेनाले पनि आफ्नो गस्ती र निगरानी बढाएको छ । तेस्रो घेरामा रहेर काम गर्ने सेना विस्फोटक पदार्थ भेटिएका क्षेत्र पुगिरहेको छ । सेनाको निगरानी र गस्ती जारी रहेको सैनिक प्रवक्ता नैनराज दाहालले बताए ।

 

 

सोमबार चपलीमा भएको विस्फोटको घटनालगत्तै महानगरीय प्रहरी कार्यालयले निर्वाचन सुरक्षा व्यवस्था कडा पारिएको भन्दै विज्ञप्ति जारी गरेको छ ।

 

 

विज्ञप्तिमा विशेष सुरक्षा योजना तयार पारी मोबाइल गस्ती, कर्डन एन्ड सर्च, पुल र नाकामा चेकजाँच, उम्मेदवारका लागि अंगरक्षकको व्यवस्था र सादा पोसाकमा प्रहरी परिचालन गरिएको उल्लेख छ ।

 

 महानगरीय प्रहरी कार्यालयले सुरक्षाका निम्ति तालिम प्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरेको छ ।

 

काठमाडौं उपत्यकाका तीन जिल्लामा मंसिर १ यता निर्वाचनविरोधी गतिविधिमा संलग्न ४२ जना पक्राउ परेकामा ३८ जनामाथि मुद्दा चलाइएको कार्यालयले जनाएको छ ।

 

त्यस्तै उपत्यकाका तीनै जिल्लाबाट मंसिर १ यता १६८४ जनालाई शान्ति सुरक्षामा खलल र्पुयाएको भन्दै पक्राउ गरिएको छ ।

 तीमध्ये ५५० माथि मुद्दा चलाइएको छ । ११३४ जनालाई सोधपुछपछि छोडिएको छ । आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले समाचार लेखेका छन् ।

यी हुन् ७ कारण

१. गुप्तचर संयन्त्र फितलो हुनु

२. सुरक्षा निकायबीचको समन्वय कमजोर रहनु

३. पहिलो चरणमा धेरै सुरक्षाकर्मी उपत्यकाबाहिर खटाइनु

४. जांच र खानतलासी प्रभावकारी नहुनु

५. विस्फोटक पदार्थ पहिलेदेखि नै काठमाडौंमा हुनु

६. विस्फोटमा भाडाका अपराधी प्रयोग हुनु

७. विप्लव समूहलाई हेर्ने प्रस्ट सरकारी दृष्टिकोण नहुनु

प्रतिक्रिया दिनुहोस
Advertisement