काठमाण्डु– अभियन्ता आशिका तामाङले चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
उनले काठमाण्डु २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् ।
उनले ३ बुँदे अठोट लिएर चुनाव लड्ने बताएकी छिन् । युवा पुस्ताको भावनाको कदर,सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा र भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँलाई अठोट बनाएकी छिन् ।
उनले सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै, स्वच्छ र सचेत राजनीतितर्फको यो यात्रामा साथ र सहकार्यको अपेक्षा गरेको उल्लेख गरेकी छिन् ।
उनले लेखेकी छिन् … म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु। विशेष गरी Gen-Z का भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ।
यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ। म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु।
सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै, स्वच्छ र सचेत राजनीतितर्फको यो यात्रामा साथ र सहकार्यको अपेक्षा गर्दछु।




प्रतिक्रिया