काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजनमा पुगेको छ ।
मधेशवादी दलसँग एकताको बाटो खोज्ने पक्ष र नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्नुपर्ने पक्षबीच मतभेद चर्किंदा पार्टी विभाजन भएको हो ।
विवाद उत्कर्षमा पुगेपछि संघीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठसहित शीर्ष तहका ६ नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेकपामा एकीकृत हुने भएका छन् । उनीहरूले आईतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी नेतृत्वले नेकपासँग एकता सम्बन्धी कार्यकारिणी बैठक समेत नबोलेको आरोप लगाउँदै राजीनामा दिएको घोषणा गरेका छन् ।
नेकपामा प्रवेश गर्ने नेताहरूमा संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बू र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णकार तथा केन्द्रीय अनुसन्धान आयोग अध्यक्ष कृष्णबहादुर घजु छन् । उनीहरू कात्तिक १९ गते औपचारिक रूपमा नेकपामा एकीकृत हुने भएका छन् ।
विज्ञप्तिमा विचार मिल्ने राजनीतिक शक्तिसँग मिलेर संविधान र परिवर्तनका उपलब्धि जोगाउन संयुक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता देखिएको भन्दै नेकपाको मार्ग रोजेको उल्लेख गरिएको छ । आफ्नो निर्णयबारे अध्यक्ष अशोक राईलाई समेत औपचारिक रूपमा जानकारी गराएको जनाइएको छ ।





प्रतिक्रिया