काठमाण्डु – नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवा भएको छ ।
मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सैनिक मुख्यालयमा गत शुक्रवार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गर्दै रक्षामा पत्र पठाएको थियो ।
बैठकले सेनाका महासेनानीहरु कमल बानियां,राजाराम बस्नेत,रोजप्रताप राणा र संजय देउजाको सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सेनाका बलाधिकृतरथी सिताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उनको नाम रथी बढुवाका लागि सिफारिस गरेपछि सरकारले त्यही आधारमा निर्णय गरेको हो । २०४३ सालमा सैनिक अधिकृतका रुपमा सेनामा प्रवेश गरेका सिग्देल २५ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको हायर कमाण्ड कोर्समा समेत उनि प्रथम भएका थिए । तनहुंमा जन्मेर भैरहवामा हुर्केका सिग्देलले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । हाल उनि सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशक छन् ।
सेनाका बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउंमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण उनले दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको लागि रथी बढुवाको बाटो खुलेको हो ।
रथीमा बढुवासंगै सिग्देलको हालका प्रधानसेनापति प्रभुराम शर्माले अवकास पाएपछि प्रधानसेनापति बन्ने बाटो खुला भएको छ । योसंगै शर्माले भदौ २४ मा अवकास पाएपछि सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बन्ने लगभग निश्चित भएको छ ।
सेनाका उपरथीहरुको सरुवा
मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले सेनाका उपरथीहरुको समेत सरुवा गरेको छ । सरुवा हुनेहरुमा सेनाको पश्चित पृतनाका पृतनापति रहेका उपरथी दीपक बानियांको कार्यरथीको कार्यालय, विजय थापा सैनिक ईन्टेलिजेन्स महानिर्देशनालय, प्रेमध्वज अधिकारी युद्धकार्य महानिर्देशक, सुदर्शन सिलवाल मध्यपूर्वी पृतना वर्दीवास, गणेश श्रेष्ठको सुदुरपश्चिम पृतना धनगढी र उपरथीमा बढुवा भएका सन्तोषवल्लभ पौडेलको पश्चिम पृतना पोखरामा पदस्थापन भएको छ ।




प्रतिक्रिया