काठमाण्डु – नेपाली सेनामा निकै महत्वका साथ हेरिएको रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको बढुवासंगै भावी सेनापतिको टुंगो लागेको छ । तत्कालिन बलाधिकृतरथी सरोजप्रताप राणाले १९ कात्तिकमा अनिवार्य अवकास पाएदेखि नै सेनामा रथीको दरबन्दी रिक्त थियो ।
राणाको ठाउंमा उपरथी ताराध्वज पाण्डेलाई सेनाको रथीमा बढुवा गर्ने प्रधानसेनापति प्रभुराम शर्माको तयारी थियो । तर, उनिसंग दुई वटा नागरिकता रहेको प्रमाणित भएपछि पाण्डेले पदबाट राजीनामा दिएका थिए । पाण्डेको पदबाट राजीनामासंगै सिग्देलको रथी बढुवाको लागि बाटो खुलेको हो ।
तर, सिग्देलको बारेमा समेत उमेरको कैफियत भएको भन्दै प्रश्न उठेपछि सेनाले छानविन समेत गरेको थियो । सेनाको छानविनमा उनि निर्दोष देखिएपछि बढुवा सिफारिस भएको थियो । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि वरियताको आधारमा पाण्डेको बढुवा गर्न खोजेका भएपनि रक्षामन्त्रालय भने सिफारिस गरेका थिएनन् ।
तर, उनकै निर्देशनमा पाण्डेको वारेमा सेनाले जारी गरेको विज्ञप्ति भने विवादित बन्न पुग्यो । जसमा पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र उमेरमा समस्या नभएको उल्लेख थियो । पाण्डेले राजिनामा दिएसंगै सेनापति शर्मालाई नैतिक रुपमा समस्या भएको थियो ।
पाण्डेको राजिनामापछि रथी बन्ने बाटो सिग्देलको लागि खुलेपनि उनलाई रोक्न अनेकौं चलखेल भएको खुल्न आएको छ । सिग्देल वरियतामा दोस्रो नम्बरमा रहेकाले उनको दावी स्वभाविक थियो । तर, उनिपछिका दावेदारहरुले उनलाई हटाएर रथी बन्न निकै कसरत गरेको सैनिक अधिकारीहरु नै बताउंछन् । त्यसमा सत्तारुढ दलका नेताहरु समेत सक्रिय थिए ।
सैनिक मुख्यालयले मंसिर ८ मै सिग्देलको बढुवा सिफारिस गरेपनि उनको फाइल रक्षामा रोकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उनको बढुवामा सकरात्मक नभएको स्रोतको दावी छ । गृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठले उनको बढुवा नरोक्न आग्रह गरेपनि नेपाली कांग्रेसका प्रभावशाली नेताहरुको दबावमा सिग्देलको बढुवा रोक्न खोजेको बताइन्छ ।
२०४३ सालमा सैनिक अधिकृतका रुपमा सेवा प्रवेश गरेका सिग्देल सेनामा लो प्रोफाइलमा बस्ने अधिकृतका रुपमा चिनिन्छन् । उनि २५ बेसिकका सैनिक अधिकारी हुन् ।
सेनाको हायर कमाण्ड कोर्समा प्रथम भएका सिग्देल तनहुंमा जन्मेर भैरहवामा हुर्केका हुन् । उनले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । सिग्देल यसअघि सम्भाररथी,हेटौडामा पृतनापति थिए । रथीमा बढुवा हुनुभन्दा पहिलो उनि सेनामा महत्वपूर्ण मानिने नीति महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा थिए ।
रथीमा बढुवा भएका सिग्देल सेनामा राजनीतिबाट टाढा भएका सैनिक अधिकारी हुन् । रथीमा बढुवा भएसंगै उनको २०८१ भदौपछि २४ पछि प्रधानासेनापति बन्ने निश्चित भएको छ । सेनामा वरिष्ठ रथी नै प्रधानसेनापति बन्ने प्रचलन छ । सेनाको अर्को रथीको दरबन्दी पुष ३ मा रिक्त हुनेछ । त्यसमा वरियतामा आधारमा हाल फोर्स कमाण्डर रहेका निर्मल थापा रथीमा बढुवा हुनेछन् ।
त्यसपछि सेनाको रथी पद २०८१ भदौमा रिक्त हुनेछ । त्यसमा उपरथी बाबुराम श्रेष्ठको बढुवा हुने निश्चित छ । सिग्देलपछि अहिलेकै अवस्थामा सहायकरथी अनुपजंग थापा सेनाको प्रधानसेनापति बन्ने लाइनमा छन् । उनका प्रतिस्पर्धी मधुकर कार्की अहिले एनडिसी कोर्स गर्दैछन् । सेनाको रथी बढुवा इतिहासमै पहिलो पटक बिवादित बन्न पुगेको छ ।
सैनिक नेतृत्वको नेतृत्व क्षमता कमजोर भएकै कारण पछिल्लो समय सेनामा राजनीतिक हस्तक्षेप बढेको सेनाका अधिकारीहरु बताउंछन् । प्रधानसेनापति शर्माले राजनीतिक नेतृत्वको आकांक्षालाई पुरा गर्न खोज्दा सैनिक संगठन कमजोर बन्दै गएको भन्दै सेनाका उपरथीहरुले नै त्यसो नगर्न उनलाई सुझाव दिइसकेको सैनिक स्रोत बताउंछ ।




प्रतिक्रिया