काठमाण्डु – नेपाली सेनाका रथी अशोक सिग्देल कायममुकायम प्रधान सेनापति भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई कायममुकायम प्रधानसेनापति बनाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले दिए । मन्त्रिपरिषद्का निर्णय सुनाउन गुरुङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थिए ।
प्रधान सेनापति प्रभुराम शर्मो २४ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा जाने प्रचलन छ।
त्यसअनुसार शर्माले साउन २५ गतेदेखिको बिदा माग गरेका थिए। रक्षा मन्त्रालयले उनको बिदा पनि स्वीकृत गरिसकेको छ । शर्माको बिदा स्वीकृत भएसँगै मन्त्रालयले सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउने प्रस्ताव गरिएको थियो।
सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिले ६१ वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहनसक्नेछन्। त्यस्तै प्रधान सेनापतिको पदावधि तीन वर्षको हुने उल्लेख छ।




प्रतिक्रिया