२ करोड २९ लाखको चेक प्रकरण : एसएसपी अशोक सिंहमाथि छानबिन गर्न समिति गठन


काठमाण्डु – प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाण्डुका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न समिति गठन गरेको छ । डीआइजी राजेशलाल कर्णको संयोजकत्वमा समिति गठन गरिएको प्रहरी हेडक्वार्टर स्रोतले जनाएको छ । समितिमा कर्णसँगै एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन् ।

प्रहरी हेडक्वार्टरले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा एसएसपी सिंहको मिलेमतो रहेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरेको हो । हराएको ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराएका थिए ।

बराल गत असोज २२ गते झापा घर भई काठमाण्डु बस्ने सुभास भेटवाललाई भेट्न नयाँ बानेश्वर पुगेकाे उजरीमा उल्लेख गरिएको छ । त्यसदिन नयाँ बानेश्वरमा बराल र भेटवाललगायत ४–५ जना मदिरा पिउँदै तास खेलेर बसेका थिए । त्यसको भोलिपल्ट आफ्नो झोलामा रहेको बैंक अफ काठमाण्डू, कमलादी शाखाको ७ थान चेक नभेटिएपछि बरालले चेक हराएको भनी उजरी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement