काठमाण्डु – ओखलढुङ्गा जिल्लाबाट नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्क सहितको आईटीको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् ।
शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाण्डु सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले ओखलढुङ्गाबाट जितेको खण्डमा आईटीको काम पनि घर, आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘उच्च नेटवर्कबाट काठमाण्डु नआइकन आईटीको काम गरेर ओखलढुंगा जिल्लामा घरआँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्नेछ, अबको सरकारले गर्नेछ, अब आउने नेतृत्वले गर्नेछ । हामी के पढ्ने भनेर ओखलढुंगाबाट काठमाण्डु आइरहँदा मैले सांसदको रूपमा काम गर्न सके भने मैले धेरै केही गर्न सकिनँ भने पनि ओखलढुंगाका हरेक युवा उच्च शिक्षाको लागि सही काउन्सिलिङ गर्नका लागि स्कूल–स्कूलमा उपस्थित हुनेछु ।’
उनले भोलिको दिनमा यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरू छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै भएको पनि बताइन् ।
उनले भनिन्, ‘पुराना राजनीतिक दलले केही गरेनन् भन्ने कुरा अहिले सुन्नमा आइरहेको छ । तर म के भन्न चाहन्छु भने यो समयको चापलाई पछ्याउने र समयसँग अपडेट हुने पार्टी आज पनि कोही छ भने त्यो नेकपा एमाले हो भन्ने कुरा हरेक तहबाट प्रमाणित भएको छ । भोलिको दिनमा पनि यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरू छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै हुन् ।’
जनताले दिएको मत कुनै पनि लोभ, लालच र गलत काममा प्रयोग हुन नदिने पनि उनको भनाइ छ ।




प्रतिक्रिया