एमाले सुदृढ बनाउन केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

एमाले सुदृढ बनाउन केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले आफ्ना कमी कमजोरी समीक्षा गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री शाक्यले ओली र अरु नेताहरुले गल्तीको ढाकछोप गरेर हिँड्न नहुने बताएकी हुन् । साथै उनले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन नेतृत्वलाई चारवटा सुझाव दिएकी छन् ।

यस्ता छन् ओलीलाई चार सुझाव

१) हामी विचारबाट साह्रै विचलित भयौं । वैचारिक प्रशिक्षण भएन । नवौं अधिवेशनमा दुइटा प्यानल बन्यो । निर्वाचनमा गुटबन्दी भयो । पार्टीभित्र अन्तरविरोध सिर्जना भयो । कहिल्यै पनि संगोल एमाले भएन । दुर्भाग्य थियो । एकताबद्ध भएर जाने, प्यानल नबनाउने हो सुदृढ एमाले बनाउन सक्छौं ।

२) हामीसँग विचार छ । तर कहिले पनि वैचारिक काम गर्न सकेनौं । नवौ अधिवेशनपछि प्रशिक्षण, विचारको अभाव भयो । कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि जन्माउने गुटबन्दी हो । एमाले गुटबन्दीको सिकार बन्यो । यसमा अत्यन्तै समीक्षा हुनुपर्छ । निर्मम समीक्षा गरेमात्रै सुदृढ एमाले बन्छ । नेतृत्वले आँट गर्नैपर्छ ।

३) जनमतको कदर गर्नै सकेनौं । यत्रो नेपाली जनताले हामीलाई जनमत दियो । सत्तामा पुर्‍यायो । तर जोगाउन सकेनौं । जनताले मत दियो । अब फेरि चुनावमा जानुपर्छ भनेर सोचेनौं । जनमत पाएको हो जे हुन्छ जसरी चल्छ चल्छ भनेर गैरजिम्मेवारीपूर्वक सोच्यौं । अब जनमतलाई के भन्ने ? आत्मालोचना गर्नैपर्छ । जनतामाझ भन्नैपर्छ । तब मात्रै सुदृढ एमाले हुन्छ । फेरि जनमत पाउँछ ।

४) हामी रूपान्तरित हुने कि नहुने ? नेता मात्रै होइन, कार्यकर्तासम्म, कार्यकर्तामात्र होइन सिंगो संगठन, तलदेखि माथिसम्म विचार, व्यवहारमा रूपान्तरित हुने कि नहुने ? कि त्यहीँ सामन्ती सोचबाट जाने हो ? त्यसरी जाँदा गाह्रो हुन्छ । सिंगो एमाले पंक्तिलाई पहिला रूपान्तरित गरौं । विचारको राजनीति गरौं । किनभने हामी गालीगलौजको राजनीतिक गर्छौं । फेरि त्यसलाई कसरी सच्याउने ? रूपान्तरित गर्नैपर्छ । त्यसका लागि विधान अधिवेशन आइसकेको छ । महाधिवेशन कमिटी तोकिसकेको छ । मूलधारको कम्युनिस्ट एमाले नै हो । त्याग र बलिदानबाट आएको एमाले सुदृढ बन्नु, विधिसम्मत बनाउनुपर्छ । नैतिक आचारणलाई सुदृढ बनाउँदै गयौं भनेर धेरै कुरा मिलेर जान्छ ।