काठमाडौं – गायिका आस्था राउतले माफी मागेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान र आफूबीच भएको विवादको भिडिओ सार्वजनिक भएपछि गायिका राउतले माफी मागेकी हुन् ।
शुक्रबार त्रिभुवन विमानस्थलमा राउत र प्रहरी जवानबीच भएको भिडिओ एकाएक सार्वजनिक भएपछि राउत आफ्नो फेसबुकबाट लाइभ आएर आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन् । उनले लाइभमा भनेकी छन्, ‘लाइभ आउनेबेलामा म अलिकति संम्यमित हुनसक्थें, कम्प्लेन थियो त्यसलाई डिसेन्ट वेमा भन्न सक्थें ।’
आफूप्रति दुर्व्यवहार भएको भने उनले दाबी गर्दै भनेकी छन्, ‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु,’ ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थेस डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए ।’
‘दुई चार वटा शब्द मैले नभनेको भए हुन्थ्यो, नत्र भने मैले भनेका अरु कुरा गलत छैनन्,’ उनले भनेकी छन् ।
विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले केही दिनअघि प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन् । उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी समेत गरेकी थिइन् ।
सामाजिक सञ्जालमा उनको भिडिओ सार्वजनिक भएपछि केही उनको पक्षमा उभिएका छन् भने केहीले भने प्रहरीलाई अपशब्द प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।




प्रतिक्रिया