भारतीय राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीमाथि आतंकवादी हमलाको आशंका


एजेन्सी । भारतीय भीभीआईपीमाथि आतंकवादी हमलाको आशंका गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको आशंका गरिएको हो ।

राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले एक पत्र प्राप्त भएको जनाएको छ । उक्त पत्रमा आक्रमणको धम्की दिइएको छ । पत्र प्राप्त भएसँगै दिल्ली प्रहरीले मङ्गलबार भारतीय क्रिकेट टोलीको सुरक्षा बढाउन निर्देशन दिएको छ ।

एनआईए उक्त पत्र बीसीसीआईलाई पनि पठाएको छ । भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला नोभेम्बर तीनबाट शुरु हुँदैछ । पहिलो खेल दिल्लीको अरुण जेटली स्टेडियममा खेलाइनेछ ।

दिल्ली प्रहरी स्रोतका अनुसार एनआईएलाई प्राप्त पत्रको सूचीमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानी, कार्यकारी अध्यक्ष जेपी नड्डा तथा स्वयम्सेवक संघका प्रमुख मोहन भागवतको नाम पनि सामेल छ ।

चिठ्ठीमा केरलको कोझिकोडस्थित अल इन्डिया लश्कर नामको संगठनले लोकप्रिय हस्तीलाई निशाना बनाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement