काठमाण्डु – महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने दावी गरेका छन् । सोमबार विपक्षीको तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले आफूहरूले स्वीकार गरे पनि संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको भन्दै प्रश्न उठाएका छन् ।
‘संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेशबीचको विवाद वा संघ र स्थानीय तह बीचको विवाद हुनुपर्छ,’ उनले भने, ‘दुर्भाग्य उहाँहरु जुन धारा टेकेर यहाँ आउनुभयो त्यो धारा अनुसारको कुरा यहाँ उठाइएको छैन । उहाँहरुले अदालतलाई गुमराहमा पार्नुभयो । अधिकार क्षेत्र नै नभएको अवस्थामा कसरी न्यायिक निर्णय गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।
महान्यायाधिवक्ता बडालले दलको प्रतिष्पर्धाको आधारमा चुनाव लडेर पार्टीभित्र खेल्न नपाइने जिकिर गरे । ‘चुनाव लड्न दल चाहिने, अनि जितेर आएपछि विपक्षीलाई प्रधानमन्त्री बनाउँदै हिँड्न पाइन्छ ? दलभित्रको चुनाव हार्ने अनि मै शासन चलाउछु भन्न पाइन्छ ?’ महान्यायाधिवक्ता बडालको प्रश्न थियो ।




प्रतिक्रिया