काठमाण्डु – इन्फिनिटी सर्भिसेस प्रालिले आयोजना गरेको ‘नेपाल अथर्स अवार्ड २०२५’मा ४० जना उत्कृष्ट लेखक सम्मानित भएका छन् ।
साहित्य, संस्कृति र समाजमा योगदान पुर्याउने ४० जना उत्कृष्ट लेखकलाई सम्मान गरिएको आयोजक इन्फिनिटी सर्भिसेस प्रालिकी संस्थापक शीतल खड्काले जानकारी दिइन् ।
यस अवार्डका लागि १०८ वटा प्रविष्टिहरू प्राप्त भएका थिए । जसबाट विभिन्न विधा र श्रेणीका ४० जना लेखकहरू छनोट गरिएका थिए । यसले समकालीन नेपाली र अन्तर्राष्ट्रिय लेखनको गहिराइ र विविधतालाई उजागर गरेको पनि खड्काले बताइन् ।
अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जितेन्द्रध्वज खड्का र ब्रह्मानन्द थिए । त्यस अवसरमा पूर्वप्रधानसेनापति गौरवशमेशर राणा, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, सामाजिक अभियन्ता चाँदनी जोशी र डा. प्रकाश रेग्मी लगायत उपस्थित थिए ।
कार्यक्रमको सफल आयोजनामा विशेष भूमिका निर्वाह गर्ने डा. योगेश चन्दना, डा. नरिराम लुहार ‘विनोद’ र इञ्जिनियर दीपक थापालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
यस्तै निर्णायक मण्डल र इन्फिनिटी सर्भिसेसको टोलीलाई पारदर्शिता र विश्वसनीयता कायम राख्न गरिएको योगदानका लागि पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नितिन मुनोत जैनलाई नेपाल अथर्स अवार्डको ग्लोबल ब्रान्ड एम्बेसडर छनोट गरिएको छ ।
संस्थापक शीतल खड्काले यस्तो प्रकारको पहलले लेखकहरूलाई प्रोत्साहन दिनुका साथै नेपालको साहित्यिक पहिचानलाई सबल बनाउने र नेपाली साहित्यलाई विश्वसामु पु र्याउने लक्ष्य राखेको बताइन् ।
यो अवार्डले सिर्जनशीलता, सम्मान र सांस्कृतिक संवादबीचको पुलको रूपमा आफूलाई स्थापित गर्दै गएको बताउँदै उनले विश्व साहित्यिक मञ्चमा नेपालको बढ्दो उपस्थिति र प्रतिष्ठालाई प्रतिबिम्बित गर्ने उल्लेख गरिन् ।




प्रतिक्रिया