काठमाण्डु– भारतको प्रसिद्ध धार्मिक स्थल ऋषिकेशमा अवस्थित जुना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरि नेपाल आउने भएका छन् ।
स्वामी अवधेशानन्द गिरि असार ५ गते काठमाण्डु ओर्लिने भएका हुन् । उनी सोही दिन काठमाण्डुमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा सहभागि हुनेछन् । असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अवधेशानन्द गिरिको सहभागिता हुने छ ।
विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ पनि सहभागि हुनेछन् ।
असार ७ गते पशुपतिनाथ र वसन्तपुरमा कुमारीदेविको दर्शन गरेपछि उनी भारत फर्किने कार्यक्रम छ ।
को हुन स्वामी अवधेशानन्द गिरि ?
सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’ बाट सम्मानित स्वामी अवधेशानन्द गिरि ‘जूना अखडा’ का आचार्य महामण्डलेश्वर हुन् । जुना अखडा नागा साधुहरूको सबैभन्दा ठूलो अखाडा हो । गिरिले हालसम्म करिब १० लाख नागा साधुहरूलाई संन्यासको दीक्षा दिईसकेकाछन् ।
अवधेशानन्द गिरि ‘हिन्दु धर्म आचार्य सभा’ का अध्यक्ष र ‘वल्र्ड काउन्सिल अफ रिलिजियस लिडर्स’ का बोर्ड सदस्य पनि हुन् ।
अवधेशानन्द गिरि आधुनिक विचारक र प्रखर वक्ता पनि हुन् । जलवायु परिवर्तन, पर्यावरण संरक्षण र विभिन्न सम्प्रदायहरूबीचको भातृत्वका विषयमा सन् २०१९ संयुक्त राष्ट्र संघको मुख्यालयमा गिरिले प्रवचन दिएकाछन् ।
स्वामी अवधेशानन्द गिरिको नेपाल यात्रालाई नेपाल सरकारले अघि सारेको ‘देवभूमि नेपाल अभियान’ लाई विश्वव्यापीकरण गर्ने अवसरका रुपमा लिनुपर्ने जानकारहरु बताउँछन् ।




प्रतिक्रिया