अमेरिकी र इजरायली निसानामा परेका खामेनेइ को हुन् ?

अमेरिकी र इजरायली निसानामा परेका खामेनेइ को हुन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आयतोल्लाह खामेनेई, जसले करिब चार दशकसम्म इरानका सर्वोच्च नेताका रूपमा कडा नियन्त्रणसहित शासन गरे, अमेरिका र इजरायलसँग प्रत्यक्ष टकरावमा उत्रिए, आन्तरिक असन्तोष दबाए र विवादास्पद परमाणु कार्यक्रम अघि बढाए । तर अन्ततः उनी अमेरिकी र इजरायली आक्रमणमा मारिए ।

खामेनेईको उत्तराधिकारी को हुने भन्नेबारे स्पष्ट भइसकेको छैन । हालका लागि सर्वोच्च नेताको अनुपस्थितिमा राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले उनका जिम्मेवारीहरू सम्हाल्ने छन् ।

तर यो घटनाले इरान र समग्र क्षेत्रलाई अभूतपूर्व अनिश्चिततामा धकेलेको छ ।

आइतबार बिहान इरानका विभिन्न सरकारी सञ्चारमाध्यमहरूले खामेनेईको मृत्यु पुष्टि गरे । त्यसको केही घण्टाअघि अमेरिकी र इजरायली अधिकारीहरूले संयुक्त आक्रमणमा उनी मारिएको घोषणा गरेका थिए ।

मध्यपूर्वका सबैभन्दा शक्तिशाली नेतामध्ये एक मानिएका खामेनेईले प्रतिरोध र दृढताले परिभाषित शासन सञ्चालन गरे । पश्चिमी देशहरू र इजरायलको दबाबबीच उनले इरानलाई क्षेत्रीय शक्तिका रूपमा विस्तार गरे ।

तर उनको मृत्यु त्यतिबेला भएको हो, जब सन् १९८९ मा सत्तामा आएयता इरान सम्भवतः सबैभन्दा कमजोर अवस्थामा थियो । दशकौँ लामो पश्चिमी प्रतिबन्धले अर्थतन्त्र कमजोर बनाइसकेको थियो । जुन २०२५ मा भएको अमेरिकी–इजरायली आक्रमणले उनको शासनलाई गम्भीर क्षति पुर्‍यायो ।

आइतबार भएको नयाँ आक्रमणमा तेहरानस्थित उनको आवास र कार्यालय लक्षित गरिएको थियो । सरकारी प्रसारक आइआरआइबीले ‘इरानका सर्वोच्च नेता शहीद भएका छन्’ भन्ने समाचार प्रसारण गर्‍यो ।

प्रतिरोधको धुरी

खामेनेईका समर्थकहरूका अनुसार उनले अमेरिका र इजरायलको प्रभाव अस्वीकार गर्ने विदेश नीति अपनाएका कारण अन्ततः जीवन गुमाउनुपरेको हो ।

उनको नेतृत्वमा इरानले विवादास्पद परमाणु कार्यक्रम अघि बढाएको थियोे, जसले इस्लामिक गणतन्त्र र पश्चिमबीचको सम्बन्धलाई गम्भीर तनावमा पुर्‍यायो ।

उनले ९ करोड जनसंख्या भएको, २,५०० वर्ष पुरानो सभ्यता बोकेको इरानमा सत्ता सुदृढ गर्दै सशस्त्र बल, गुप्तचर संयन्त्र, न्यायपालिका र राज्य सञ्चारमाध्यममाथि प्रभाव कायम राखे ।

सन् १९८९ मा पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइको निधनपछि खामेनेई सत्तामा आएका थिए । त्यसपछिका तीन दशकसम्म इरानले प्रत्यक्ष ठूलो सैन्य आक्रमण झेल्नु परेन । यद्यपि उसले क्षेत्रभर आफ्ना समर्थित समूहहरूको सञ्जाल विस्तार गर्‍यो, जसलाई एक्सिस या रेस्सिटेन्स भनिन्थ्यो ।

आयतोल्लाह अली खामेनेई इस्लामिक क्रान्तियताका दोस्रा सर्वोच्च नेता थिए र सन् १९८९ यता उनी सर्वोच्च पदमा थिए । युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन् ।

अली खामेनेई विरलै विदेश जान्थे र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्थ्यो ।

उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्थ्यो । जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन ।

सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको थियो ।

मन्सुरेह खोज्स्तेह बकेरजादेहसँग विवाह गरेका खामेनेई चार छोरा र दुई छोरीका पिता थिए । सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार विरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ ।

उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा थिए जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवम् सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्थे ।

तर सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि क्षेत्रीय समीकरण बदलियो । इजरायलले हमास र पछि लेबनानको हिज्बुल्लाहमाथि ठूलो सैन्य कारबाही गर्‍यो । त्यसक्रममा सन् २०२५ जुनमा इरानका परमाणु संरचनामाथि प्रत्यक्ष आक्रमण भयो ।

परमाणु कार्यक्रम र टकराव

खामेनेईले परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएका थिए । सन् २०१५ मा भएको परमाणु सम्झौता इरान र विश्व शक्तिहरूबीच ऐतिहासिक सहमति थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएपछि तनाव पुनः बढ्यो ।
इरानले युरेनियम संवद्र्धन तीव्र बनायो र प्रतिरोध अर्थतन्त्रको नीति अघि बढायो । त्यसले देशलाई अझ अलगाव र आर्थिक संकटतर्फ धकेल्यो ।

क्षेत्रीय प्रभाव

खामेनेईको शासनकालमा इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स क्षेत्रीय राजनीतिमा प्रभावशाली बन्यो ।

इरानले इराक, सिरिया, लेबनान, गाजा र यमनमा आफ्ना समर्थित समूहमार्फत प्रभाव विस्तार गर्‍यो ।

तर इजरायलसँगको १२ दिने युद्धपछि इरानका धेरै रणनीतिक आधार कमजोर भए । परमाणु संरचना क्षतिग्रस्त भयो, क्षेत्रीय प्रतिनिधि समूहहरू कमजोर बने, र अर्थतन्त्र गहिरो संकटमा फस्यो ।

आन्तरिक दमन र सुधारको प्रयास

खामेनेईको शासनमा सुधारका प्रयासहरू पटक–पटक दमन गरिए । २००९ को चुनावपछिको आन्दोलनदेखि २०२२ मा महसा अमिनीको मृत्युपछि भड्किएको आन्दोलनसम्म राज्यले कडा बल प्रयोग गर्‍यो । सयौँ मारिए, हजारौँ पक्राउ परे ।

उनको शासनले इरानको राजनीतिक र सामाजिक संरचनामा गहिरो छाप छोड्यो । अब उनको मृत्युले देशको भावी राजनीतिक मार्ग, सत्ता हस्तान्तरण र क्षेत्रीय सन्तुलनमा गम्भीर परिवर्तन ल्याउने सम्भावना छ ।

खामेनेईका समर्थकका लागि उनी दृढ र निर्भीक नेता थिए; आलोचकका लागि कठोर शासक। जे भए पनि, इस्लामिक गणतन्त्र इरानको इतिहासमा उनको प्रभाव निर्णायक रह्यो र उनको मृत्युसँगै नयाँ अध्याय सुरु भएको छ ।