काठमाण्डु – चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी र झापास्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजको व्यवस्थापनबीच अहिले जुहारी चलेको छ । केसी पक्षले ऐन विपरीत बी एण्ड सीलाई सम्बन्धन दिन नहुने बताइरहंदा बी एण्ड सीका संचालक दुर्गा प्रसाईंले भने आफूहरुले मापदण्ड पुरा गरेकाले अनुमति पाउनुपर्ने दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको निर्देशनमा आयोगको क्षेत्राधिकार मिचेर काठमाण्डु विश्वविद्यालयले सम्बन्धन दिने निर्णय समेत गरेपछि फेरी केसी पक्ष र प्रसाईंबीच आरोप्रत्यारोप सुरु भएको हो । प्रसाईंले केसीका मिडिया संयोजक प्रीतम सुवेदीलाई भौतिक आक्रमण गर्ने धम्कि दिएपछि डा.केसीले विज्ञप्ति जारी गरेका थिए ।
भौतिक आक्रमणमै उत्रने धम्की
काठमाण्डु विश्वविद्यालयले चोर बाटोबाट अवैध रुपमा बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको भन्दै डा. केसीको अभियानका तर्फबाट प्रेस विज्ञप्ति जारी भएलगतै लगत्तै प्रसाईंले डा.गोविन्द केसी अभियानका मिडिया संयोजक प्रीतम सुवेदीलाई फोन गरेर भौतिक आक्रमणको धम्की दिएका छन् ।
उनले सुवेदीलाई, ‘तँलाई भेटें भने तेरो नि तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भन्दै धम्की दिएका छन् । साथै बाबु, आमा र बहिनीको नाम लिंदै सुवेदीलाई ‘डांका’ लगायतका अपशब्द बोलेका छन् । टेलिफोन संवादमा कुराकानीमा प्रसाईंले आफ्नो अस्पतालमा कोभिडका बिरामीलाई दुई लाख रुपैयां धरौटी राखेर मात्रै उपचार गर्ने गरेको पनि स्वीकारेका छन् ।
सोमबार सोलिडारिटी फर डा.केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीले वीएण्डसीको सम्वन्धनको विषयलाई चर्चा गर्दै विज्ञप्ति जारी गरेका थिए । उनले त्यसमा ‘टेलिफोन विवाद’को प्रसंग त जोडेका थिए नै त्यसबाहेक वी एण्ड सीको सम्वन्धनको विषयमा केयुले प्रधानमन्त्री केपी ओली र प्रसाईंबीचको सम्बन्धकै कारण कानून मिचेर निर्णय गरेको बताएका थिए ।
त्यसको जवाफमा बीएण्डसीले आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीलाई अनावश्यक रुपमा आफूसंग जोडेर भ्रम सिर्जनागर्न खोजेको भन्दै आपत्ति जनाएको छ ।
‘निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज–क्याम्पस) सम्बन्धमा बनेको आधारभुत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ जारी हुनु अगावै (२०७३ ।११।१५ मा) केयु समक्ष निवेदन दिएको, सोही निवेदनको आधारमा विश्वविद्यालयको सभाको ८९ औं बैठकले आफूहरुलाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धनको निर्णय गर्नु अघि केयुका विज्ञहरु सम्मिलित टोलीले गत २२ देखि २६ बैशाखमा गरेको कलेजको प्रारम्भिक निरीक्षण गरेको र सोही अनुसार पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा १३(६) बमोजिम सम्बन्धनका लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.लाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा पत्र पठाएको पनि विज्ञप्तिमा जनाइएको छ ।
काठमाण्डु विश्वविद्यालय भन्छः बी एण्ड सीलाई सम्बन्धन कानुनसम्मत
यता काठमाण्डु विश्वविद्यालयले प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आवश्यक पर्ने सहमतिपत्र कानूनसम्मत रहेको दाबी गरेको छ । हाल विद्यमान रहेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अधीनमा रही आफूहरुले सहमतिपत्र प्रदान गरेको विश्वविद्यालयकी प्रवक्ता एक्कुमाया पुनले बताइन् ।
‘विश्वविद्यालय सम्बन्धन दिने अन्तिम निकाय होइन, आयोगमा आवेदनका लागि सहमतीपत्र उपलब्ध गराइएको हो,’ पुनले भनेकी छन् ।
विश्वविद्यालयको विज्ञ सम्मिलित टोली मार्फत २०७८ वैशाख २३ देखी २४ सम्म उक्त कलेजको प्रारम्भिक निरीक्षण समेत गरेर सम्बन्धनका लागि आयोगलाई चाहिने सहमतिपत्र दिनेगरी विश्वविद्यालय कार्यकारी परिषद्ले मिति २०७८ वैशाख ३१ मा निर्णय गरेको प्रवक्ता पुनले विज्ञप्ति जारी गरेर जानकारी गराएकी थिइन ।
त्यसलगतै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापालगायतका पदाधिकारीहरुले पदीय दुरुपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको बताउदै उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्नुपर्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका प्रसाईं विभिन्न विषयका कारण चर्चामा आइरहन्छन् । तत्कालिन समयमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन प्रसाईंले महत्वपूर्ण भूमिका खेलेको चर्चा चलेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईं मार्सी चामलको भात खुवाएर पार्टी एकता गराएको भनेर दाबी गर्ने प्रसाईं नेकपा फुटपछि प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेका छन् ।
प्रधानमन्त्री ओलीकै आडमा उनले चिकित्सा शिक्षा आयोगलाई लत्याएर केयुमार्फत सम्बन्धन लिने प्रयास गरेको आरोप लाग्दै आइरहेको छ । केही महिना अगाडि प्रसाईंको अस्पताल पुगेर प्रधानमन्त्री ओलीले उनको प्रशंसा गर्दै बिएण्डसीले छिट्टै सम्बन्धन पाउने आश्वासन दिएका थिए । तर, अभियानकर्मीहरुले भने ऐन मिचेर सम्बन्धन दिन नहुने भन्दै विरोध गरिरहेका छन् ।




प्रतिक्रिया