वारका चार जना पूर्वअध्यक्षको अपीलः जेष्ठ वकिलको अपमान गर्ने प्रधानमन्त्रीलाई कारबाही गर

वारका चार जना पूर्वअध्यक्षको अपीलः जेष्ठ वकिलको अपमान गर्ने प्रधानमन्त्रीलाई कारबाही गर


काठमाण्डु – नेपाल वार एशोसिएशनका चार जना पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीमाथि कारबाही गर्न माग गरेका छन् ।

आइतबार वारका चार जना पूर्वअध्यक्षहरु हरिहर दहाल, शम्भु थापा, प्रेम बहादुर खड्का र शेरबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ वकिल कृष्ण प्रसाद भण्डारीमाथि प्रधानमन्त्री अ‍ोलीले अपमान र मानमर्दन गरेको र अदालतका अपहेलान गरेको भन्दै कारबाहीका लागि अपील गरेका छन् ।

‘उक्त अभिव्यक्तिका विरुद्धमा उभिन देशभरका कानून व्यवसायीहरुलाई अनुरोध गर्दै प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न अदालतको अपहेलना जन्य कार्य गरेवापत उहाँलाई जवाफदेही बनाउन ध्यानाकर्षण गराउन चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘कानून व्यवसायको सबैभन्दा जेष्ठ सदस्य वरिष्ठतम अतिवक्ता नेवाएका पूर्वअध्यक्ष भण्डारीको घोर अपमान र मानमर्दन गरेकोले यो समस्त कानून व्यवसाय माथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’

प्रधानमन्त्री ओलीले विभिन्न कार्यक्रममा ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको यो ? वकिलले कुरा फिट्या फिट्यै छन् तर, ढुक्क हुनुहोस् प्रतिनिधिसभा विघटन हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले कानून व्यवसायमाथी नै धावा बोलेको भन्दै मुक दर्शक भएर सहन नसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले झापा आन्दोलनका क्रममा लागेको राजनीतिक मुद्दाको पक्षमा बहस गर्ने साहसिक कानून व्यवसायीलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्नु प्रधानमन्त्रीको शक्तिको अहंकार उन्माद भएको बताएका छन् ।