व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष रोकाया

व्यवसायिक कृषिमा प्रेरणाको स्रोत बने गाउँपालिका अध्यक्ष रोकाया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले कृषि व्यवसाय सुरु गरेका छन् । उनी अहिले कृषि व्यवसायबाट मनग्य आम्दानी पनि गर्न सफल भएका छन्।

बिहान बेलुका र विदाको समयमा उनी तरकारी खेतीमा समय बिताउने गर्छन् । ‘अरुले भाषण गर्छन म काम गरेर देखाउँछु’ उनले भने । हामी आफू अनुकुल काम गर्दैनौँ । समृद्धिको कुरामात्र गरेर हुँदैन उनले भने कृषिबाटै हामीले मनग्य आम्दानी गर्न सक्छौँ । अध्यक्ष रोकायाले अहिले बङगुर र तरकारी खेतीबाट सबै खर्च कटाएर बार्षिक ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्छन् ।

उनको बारीमा काक्रा, घिरौला, लौका, मुला, टमाटार, बन्दा, सागलगायतका तरकारी उत्पादन भएका छन् । परिश्रम गरे यहीँको माटोमा सुन फलाउन सकिन्छ भन्ने मान्यताका साथ सुरु गरेको व्यवसायले अहिले सोचे भन्दा पनि बढी फाइदा दिएको उनले जानकारी दिए । खप्तड छान्ना गाउंपालिकामा उनकै कृषिबाट प्रभावित भएर युबाहरु समेत ब्यबसायीक तरकारी खेती र कुखुरापालनमा समेत लागेका छन् । गाउँपालिकाको अध्यक्ष भएपछि पनि उनले धेरै युवाहरुलाई कृषि गर्न आग्रह गरे तर अधिकांश युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् ।

उनीहरुलाई प्रेरणा दिन पनि उनी अझ सक्रिय भएर लागेको रोकायाले बताए । रोकायाले खप्तड छान्ना गाँउपालिकालाई कृषिमा पकेट क्षेत्र बनाउन लागि परेको जानकारी दिए । उनी कृषिका माध्यमबाट गाउँपालिकाको समृद्धि हुन्छ भन्नेमा विश्वास गर्छन् । यसका लागि कृषिमा आधुनिकीकरण गर्ने उनको धोको छ । जुन आफैं गरेर देखाउन चाहन्छन् । कांग्रेसका तर्फबाट गाउँपालिका प्रमुखमा विजयी हुनुभन्दा अघि नै आधुनिक कृषिमा लागेका रोकाया भन्छन ‘हामीले बाजेबराजुका पालादेखि खेतिपाती गर्दै आएका हौं । तर पनि हाम्रो प्रगति हुन सकेन । रातदिन खेतमा घोटिएर काम गर्दा पनि आफैंलाई पाल्न नसक्ने अवस्थामा पुग्यौं । किनकि हामीले खेतीपाती नै गर्न जानेनौं ।’

‘धान र गहुँखेती नगर्ने हो भने के खाएर बाँच्नु ? भन्ने यहाँका कृषकको बुझाइ छ । अझै पनि व्यावसायिक खेती गरे आर्थिक रूपमा सबल भइन्छ भन्ने कुरामा स्थानीयलाई विश्वास छैन,’ प्रमुख रोकायाले भने, ‘कुन माटोमा कस्तो खेती फस्टाउँछ ? व्यावसायिक खेतीले कसरी आर्थिक समृद्धि सम्भव छ ? भन्ने कुरा गरेरै देखाउन यसो गरेको हुँ ।’ उनको बारीमा ५ सयभन्दा बढी ओखरका बोट छन् । खरबारीमा २ हजार बोट कागती लगाएका छन् । खोला किनारको जग्गामा २ सय बोट केरा छन् । अनार, सुन्तला, अमिलोजस्ता फलफूल मौसमअनुसार बारीभरि लटरम्म फल्छन् । घर वरिपरि लगाएको मौसमअनुसारका तरकारीले उनलाई खान पुगेर राम्रै आम्दानी दिएको छ । ‘लेकतिर २ हजार बोट जति स्याउ पनि लगाएको छु,’ रोकायाले भने’ उनले आधुनिक प्रविधिमा आधारित प्लास्टिक घरमा पनि विभिन्न जातका तरकारी फलाउने गरेका छन् ।

गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा विभिन्न गाउँ तथा बस्तीलाई उत्पादनको आधारमा विभिन्न कृषि उत्पादन पकेट क्षेत्र निर्माण गरेर व्यावसायिक गर्ने कुरामा जोड दिएका छौं। त्यसका लागि कार्यक्रम बनाई कामसमेत अगाडि बढाईसकेका छौं। पशुपालनमा संलग्न कृषकलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको छ। गाउँक्षेत्रमा उत्पादित कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण गर्न प्रत्येक वडामा कृषि उत्पादन संकलन केन्द्र निर्माण गरिएको छ। हाट बजार व्यवस्थापनका लागि उपयुक्त स्थान खोजी भइरहेको छ। अध्यक्ष रोकायाले भने