सुशीला कार्कीलाई बधाई दिँदै बाबुराम भट्टराईले भने- छिटो शपथ खुवाएर अन्योल अन्त्य गरौं

सुशीला कार्कीलाई बधाई दिँदै बाबुराम भट्टराईले भने- छिटो शपथ खुवाएर अन्योल अन्त्य गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएका छन्।

कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्न अपिल पनि गरेका छन्।

भट्टराईले शुक्रबार बिहान विज्ञप्ति जारी गरी भनेका छन् ‘नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ। हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाई’ अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्छ। त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुन सक्छ, संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ।’

कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा विधिवत् शपथ ग्रहण गराएर अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गर्न उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन्।

अहिलेको अवस्था २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिरभन्दा फरक रहेकाले यसमा संवेदनशील बन्न पनि भट्टराईले जेनजीलाई आग्रह गरेका छन्।