पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत भ्रमणबाट स्वदेश फिर्ता

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत भ्रमणबाट स्वदेश फिर्ता


काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन् ।

उनको सचिवालयका स्वकीय सचिव रेखी गुरुङद्वारा बुधबार जारी प्रेस नोटमा भ्रमणका क्रममा भएका विभिन्न प्राज्ञिक तथा राजनीतिक गतिविधिहरूबारे जनाइएको छ ।

भ्रमणका क्रममा डा. भट्टराईले मुम्बईस्थित आईआईटी बम्बईमा आयोजित टेकफेस्टमा सहभागी भई ‘दक्षिण एसियामा लोकतन्त्रको भविष्य: युवा, प्रविधि र समावेशी लोकतन्त्र’ विषयमा विद्वत् प्रवचन दिएका छन् । उनले नयाँदिल्लीमा आयोजित ‘भारत–नेपाल सम्बन्ध र नेपालको लोकतान्त्रिक भविष्य’ विषयक बृहत् सर्वपक्षीय अन्तरसंवाद कार्यक्रममा सहभागी भएर आफ्ना विचारहरू आदानप्रदान गरेका सचिवालयले जनाएको छ ।

स्वदेश फर्किने क्रममा डा. भट्टराईले वर्तमान संकटग्रस्त अन्तर्राष्ट्रिय सन्दर्भमा नेपालको तर्फबाट लोकतन्त्र, युवा र प्रविधिसँग सम्बन्धित वैचारिक विमर्श तथा दिशाबोधमा योगदान गर्न पाएकोमा सन्तोष व्यक्त गरे । उनले नेपाल र भारतबीचको जनस्तरीय सम्बन्धलाई सुदृढ गर्न भ्रमणले केही इँटा थपेको अनुभूति गर्दै यस किसिमको संवाद र सहकार्यलाई अझ उच्च तहमा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

डा. भट्टराईको यस भ्रमणले नेपाल र भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।