गृहजिल्लामा नै बाबुराम निरीह, भन्छन् : म बबुरोको चिच्याहट सुनेनन् !

गृहजिल्लामा नै बाबुराम निरीह, भन्छन् : म बबुरोको चिच्याहट सुनेनन् !


काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेता, ठेकेदार र कर्मचारीतन्त्रबीचको लगनगाँठो जब्बर बनिसकेको भन्दै गुनासो पोखेका छन् । उनले ठेकेदारलाई ठिन पार्नका लागि जनताको सहयोग मागेका छन् ।

गोरखाको दरौंदीमा नदीजन्य पदार्थको मनपरी दोहन तथा त्यही निर्माणाधीन सडकको बेहाल रहेको प्रसंग उद्धृत गर्दै बाबुरामले सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको आफूले केही गर्न नसकेको भन्दै गुनासो पोखेका हुन् ।

उनले आफू पूर्वप्रधानमन्त्री भए पनि केही गर्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक नेता, ठेकेदार, कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ ।’

यस्तो छ उनको फेसबुक स्टाटसः

गोरखाको दरौंदी फाँटमा एकातिर नदीजन्य पदार्थको मनपरी दोहनको यस्तो भद्दा रूप प्रष्ट देखिन्छ भने अर्कोतिर १२ बर्षदेखि निर्माणाधीन १२ किलोबाट दरौंदी किनार हुँदै बारपाकसम्म पुग्ने सडकको वेहाल हेरिनसक्नु छ !

राजनीतिक नेता-ठेकेदार-कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ !

( स्मरण रहोस्, पहिलो फोटोमा देखिने वालुवा/गिट्टिको पहाड प्रमुख प्रतिपक्षी पार्टी निकट ठेकेदारको हो भने दोश्रो फोटोमा देखिने बालुवा/गिट्टिको पहाड सत्ताधारी पार्टी निकट ठेकेदारको हो !)

अब के गर्नुपर्ला ? स्थानीय सरोकारवाला जनसमुदाय र सबै नागरिकहरूको सुझावको अपेक्षा गर्दछु !