बुढीगण्डकी आयोजना नबन्नु भनेकाे देशका लागि खर्बौको घाटा हो : डा. भट्टराई

बुढीगण्डकी आयोजना नबन्नु भनेकाे देशका लागि खर्बौको घाटा हो : डा. भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजना नबन्दा मुलुकलाई खर्बौ घाटा हुने बताएका छन् । सोमबार आयोजनाको प्रभावित क्षेत्रका वासिन्दाले शुरु गरेको धर्नामा ऐक्यवद्धता जनाउन माइतीघर पुगेका डा. भट्टराइले उक्त आयोजना नबन्दा मुलुकलाई खर्बौ घाटा हुने बताएका हुन् ।

उनले आयोजना निर्माणमा ढिलाइ गर्नुको अर्थ आयोजना नै नबन्नुसरह भएको दावी गरे । ‘अब बुढीगण्डकी आयोजनामा ढिलो गर्नु हुँदैन, ढिलो गर्नु भनेको नबन्नु हो । देशका लागि खर्बौं रुपैयाँ घाटा हो’ उनले भने । अहिले आफ्नो दल जनता समाजवादी पार्टीको समेत समर्थन रहेको सरकारले आयोजना निर्माण अघि बढाउन नसक्नु लज्जास्पद भएको पनि डा. भट्टराईले जानकारी दिए ।

‘यो आयोजना नेपाल आफैंले निर्माण गर्ने भनेर अगाडि बढिसकेको थियो, पेट्रोलियम पदार्थबाट ४०र५० अर्ब रुपैयाँ जम्मा पनि भइसकेको छ’ उनले भने, ‘यसअर्थमा सम्पूर्ण नेपालीको साझा परियोजना बनिसकेको छ । यस्तो विषयमा पनि कसरी बनाउने, ठेक्कापट्टा कसलाई दिने, कसले कति कमिसन खाने भन्नेजस्ता बखेडा झिकेर परियोजना शुरु नहुनु अत्यन्त लज्जास्पद छ ।’

स्थानीय वासिन्दाले आयोजनाको नाममा राजनीति मात्र भएको भन्दै स्थानीयको जायज माग पूरा गरेर निर्माण सुरु गर्न आग्रह गरेका छन् । माइतीघरमा गरिएको प्रदर्शनमा सो आयोजनाको डुबान क्षेत्रमा बसोबास गर्ने गोरखा र धादिङ जिल्लाका सर्वसाधारण सहभागी भएका थिए ।