अब सडक आन्दोलन गर्ने पालो आयो, कांग्रेससँग मिल्नु नै धर्म हुन्छ: बाबुराम भट्टराई

अब सडक आन्दोलन गर्ने पालो आयो, कांग्रेससँग मिल्नु नै धर्म हुन्छ: बाबुराम भट्टराई


काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने बताए ।

‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन । अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ । अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ ।’

भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् ।

‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने ।

सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले बताए । ‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला । नेकपासँग बहुमत छँदैछ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै लोभ छैन । आकांक्षा छैन ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नमानेपछि समाजवादी पार्टीबाट मन्त्री बनेका यादव र मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएका थिए । समाजवादीले बुधबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।