लकडाउनमा तनाव र चिन्ता गर्ने होइन, चिन्तन गर्ने होः डा. बाबुराम भट्टराई


काठमाडौं – समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यले जनतालाई राहत दिनुपर्ने बताएका छन् ।

बिहीबार भिडिओ सन्देश जारी गर्दै डा. भट्टराईले जीवन र स्वतन्त्रता दुबै चाहिने बताएका छन् ।

कोरोनाभाइरस परास्त गर्न सकिने उल्लेख गर्दै भट्टराईले ‘यस्तो बेलामा जीवन वा स्वतन्त्रता भन्ने होइन, हामीलाई जीवन र स्वतन्त्रता दुबै चाहिन्छ’ भनेका हुन् ।

‘कोरोनापछि पनि देशलाई समृद्ध बनाउने, पुनर्निर्माण र नवनिर्माणका योजनामा राज्यले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।

आर्थिक क्षेत्रमा अब कसरी जाने भन्ने विषयमा राज्यले विज्ञसँग छलफल गर्नुपर्ने उनले बताएका छन् । ‘अन्ततः मानव जातिले कोरोनालाई परास्त गर्छ र मानव सभ्यता अगाडि बढ्छ । सबै एकजुट भएर अगाडि बढौं । सकरात्मक सोच राखौं,’ उनले भने ।

‘कोरोनासँग जुध्न अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘खाद्यान्नलगायत आपूर्तिमा लाग्ने र सरसफाइका कर्मचारीलाई धन्यवाद दिन्छु ।’

मानिसहरू घरमा थुनिएर बसेका बेला तनाव र आशंका उत्पन्न हुन सक्ने भन्दै उनले तनावमुक्त भएर सकरात्मक सोच राख्न आग्रह गरेका छन् ।

‘तनाव र चिन्ता गर्ने होइन, चिन्तन गर्ने हो,’ उनले भने, ‘महाव्याधिपछि पनि संसार रहन्छ । जीवन रहन्छ भन्ने सोच राख्नुपर्छ ।’ राज्य र नागरिकको सहकार्यले मात्रै कोरोना परास्त गर्न सकिने उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement