काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा केपी ओली नेतृत्वको सरकारबाट खतरा रहेको बताएका छन् ।
सांसद अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिन पुगेका जनता समाजवादी पार्टीका नेताहरुको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘को मर्यो भन्दा पनि काल पल्क्यो भनेर डराउनु भनिन्छ ! देशमा ऐले प्रमुख खतरा केपी शर्मा ओली नेतृत्वमा राज्यका सबै अंग र विधिको शासन भंग हुनु हो’, उनले भनेका छन् ।
डा. भट्टराईले हिटलरलगायतका तानाशाहाहरुले लोकतान्त्रिक प्रणाली कब्जा गरेको स्मरण गर्दै नेपालमा पनि त्यतै भइरहेकाले होसियारी अपनाउन जरुरी भएको बताएका छन् । उनले सरकार हिटलर शैलीमा अघि बढेको आरोप लगाएका छन् ।
‘हिट्लर लगायतका फ्रान्सिस्ट र तानाशाहहरूले पहिले लोकतान्त्रिक संस्था/प्रणाली कब्जा गरेर/भत्काएर आफ्नो अभिष्ट पूरा गरेका छन् । देश त्यतै जाँदैछ । होशियार !’, उनले भनेका छन् ।
त्यस्तै उनले ओली सरकार आफ्नै छायाँबाट किन तर्सिएको भन्दै प्रश्न गरेका छन् । उनले सांसद अपहरणबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन् ।
‘विधिसम्मत जाहेरी लिनै किन तर्सिरहेको छ ओली सरकार ? यसको छानवीन गरेर मुद्दा चलाउने नचलाउने निर्णय गर्ने अधिकार त सरकारसंगै हुन्छ नि । आफनै छायाँदेखि तर्सनुको अर्थ स्पष्ट छैन र ?’उनले प्रश्न गरेका छन् ।
सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा नेकपा सांसद महेश बस्नेत, सांसद किसान श्रेष्ठ र पूर्वआईजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दिन डा। बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।
एसपी र डिएसपीले महोत्तरी जान सुझाव दिएका थिए । पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेर काठमाडौंको मेरियट होटलमा राखिएको थियो । तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।
उनलाई बुधबार जनकपुरबाट अपहरण गरेको बताइएको छ । सांसद यावले आफूलाई जन मार्ने धम्की आएको बताउँदै आएका छन् । उनले आफूलाई पार्टी फुटाउने योजनासहित जनकपुरबाट अपहरण गरेको आरोप लगाउँदै आइरहेका छन् ।




प्रतिक्रिया