काठमाडौं – प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । डा. भट्टराईले मजदूरलाई राहत दिने कुनै कार्यक्रम नरहेको भन्दै सरकारको आलोचना गरेका छन् ।
‘हामी लकडाउनका बेलामा घरमै बस्यौं तर पूरै तलब पाउँछौ,’ उनले प्रश्न गरे, ‘तर जनता, श्रमिक चाहिँ भोकै बस्नुपर्ने ? लाज लाग्दैन ? यस्तो व्यवस्थालाई पनि कम्युनिस्ट, समाजवादी र लोकतान्त्रिक भन्न मिल्छ ?’
उनले धनी देशमा सरकार आफैंले श्रमिकको तलब भत्ता दिएको भन्दै नेपाल सरकारले व्यवसायीसँग साझेदारी गरेर भएपनि ५० प्रतिशतका आधारमा श्रमिकलाई तलब दिनुपर्ने बताए ।
‘श्रमिकलाई सम्बन्धित ठाउँमै व्यवस्थापन गर्न सक्नुपर्थ्यो, नभए घर पुर्याइदिनुपर्थ्यो,’ उनले भने, ‘यही बेलामा सामाजिक सुरक्षाको व्यवस्था गर्न सक्नुपर्दथ्यो, तर सरकारले त्यो गर्न सकेन ।’
डाक्टर भट्टराईले बैंक खाता खोलेर बैंकमार्फत् सरकारले श्रमिकहरूलाई पैसा पठाउन सक्ने थियो भन्दै त्यो पनि नगरेको आरोप लगाए ।
‘त्यतापट्टि पनि हाम्रो ध्यान गएको छैन,’ उनले भने, ‘श्रमिकहरूले ज्याला पाएका छैनन् । सरकारले तिमीहरू आफैंले गर भनेको छ । थुप्रै स्थायी श्रमिकहरू छन्, ती पनि भोकै मर्नुपर्ने अवस्था आउन सक्छ ।’




प्रतिक्रिया