भारतीय विदेशमन्त्रीले मलाई वार्ताको वातावरण बनाउनुस् भन्नुहुन्छः डा. भट्टराई

भारतीय विदेशमन्त्रीले मलाई वार्ताको वातावरण बनाउनुस् भन्नुहुन्छः डा. भट्टराई


गोरखा – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको गुमेको भूमि कसैले खोसेर लान नसक्ने बताएका छन् ।

सोमबार गृह जिल्लामा पत्रकारहरुसँग कुरा गर्दै डा. भट्टराईले फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्न नहुने बताएका छन् ।

‘कालापानी क्षेत्रको विषयमा जुन विवाद भइरहेको छ, त्यो भूमि त हाम्रै हो, कसैले खोसेर लान त सक्दैन’, उनले भने, ‘फौजी ढंगले बल प्रयोग गरेर भारतीय सेनालाई निष्काशित गर्नु एउटा बाटो हुन्छ । यो नेपालको सन्दर्भमा अहिले वुद्धिमानी र व्यवहारिक हुँदैन । अहिलेको विश्वमा यो उपयुक्त पनि हुँदैन । दोस्रो बाटो भनेको अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कुटनीतिक वार्तामार्फत यो समाधान गर्ने हो ।’

डा. भट्टराईले भारतले अतिक्रमण गरेका भूभाग समस्याको समाधानका लागि सहजीकरण गर्ने बताएका छन् । भारतीय विदेशमन्त्री र अर्थमन्त्री आफ्नै पूर्वसहपाठी भएको बताउँदै डा. भट्टराईले उनीहरुले वार्ताको वातावरण बनाउन आफूलाई आग्रह गरेको बताएका छन् ।

‘भारतका अहिलेका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सितारमन संयोगले जेएनयूकै सहपाठी हुनुहुन्छ । त्यसले गर्दा पनि एउटा भावनात्मक सम्बन्ध छ । त्यस हिसाबले पनि उहाँहरुले बेलाबेला सम्पर्क गर्नुहुन्छ । वार्ताका लागि वातावरण बनाउनुस् भन्नुहुन्छ’, उनले भने, ‘त्यस हिसाबले आवश्यक पर्दा वार्ताका लागि वातावरण बनाउन सकिन्छ । त्यसका लागि मुख्यतः प्रधानमन्त्री केपी शर्मा वलीको जुन अहंकारी प्रवृत्ति छ, त्यो उहाँले परित्याग गर्नुपर्छ । वार्ताको नेतृत्व त सरकारले गर्नुपर्छ । सहजीकरण गर्न र सहयोगी भूमिका निर्वाह गर्न म तयार छु ।’

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापनी, लिम्पियाधुरा र लिपुलेकसहित नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै संविधानमा निसान छापसमेत परिवर्तन गरिसकेको छ । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।