काठमाडौं – सत्तारुढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पार्टी सम्मिलित सरकारले लिएको लक्ष्यमाथि तिखो व्यंग्य प्रहार गरेका छन् ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारमा त्यो ‘दुःखी नेपाली र दरिद्र नेपाल’ नै हुने उनको टिप्पणी छ ।
बिहीवार काठमाडौंमा शुरू भएको समाजवादी पार्टी नेपालको संघीय परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा वर्तमान सरकारबाट समृद्धि सम्भव नभएको जिकिर गरेका हुन् ।
‘कांग्रेस–कम्युनिस्टजस्ता पुराना पार्टीहरूले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि त्यो भ्रम बाहेक केही हुने छैन । उनीहरूको सोच, संस्कार र सिद्धान्तको सीमाले नै यी कार्यभार उनीहरूबाट पूरा हुन सम्भव छैन,’ २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटेपनि व्यवहारमा त्यो ‘दुःखी नेपाली र दरिद्र नेपाल’ नै हुनेछ । वैचारिक तथा संस्थागत संरचनात्मक दोषहरूले गर्दा चाहेरै पनि उनीहरूले समृद्धीकरणको युगको नेतृत्व लिन सक्ने सम्भावना रहन्न ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा. भट्टराईले समृद्ध नेपालको कार्यभार समाजवादी पार्टीले मात्र पूरा गर्न सक्ने दाबी गरेका छन् ।
त्यस्तै नेपालको राष्ट्रिय परिस्थितिको गहन विश्लेषण, उत्पीडित राष्ट्रियताको मुक्ति र संघीयताको महत्वबारे उल्लेख छ । सुशासन, समृद्धि, पहिचान र संघीयताबारे समेत दस्तावेजमा उल्लेख गरिएको छ । मुलुकलाई लोकतान्त्रिकरण र संघीयकरण नगरी विकास र सुशासन कायम गर्न नसकिने समाजवादी पार्टीको निष्कर्ष छ ।
‘अधुरो लोकतान्त्रिकरण र संघीयकरणको प्रक्रियालाई पूरा नगरिकन साँचो अर्थमा ‘विकास, सुशासन र समृद्धि’ को यात्रा प्रारम्भ हुन असंभव हुन्छ’, दस्तावेजमा भनिएको छ, ‘देशमा दिगो शान्ति र स्थायित्व हासिल नगरी विकास सुशासन र समृद्धि सम्भव भएको उदाहरण संसारमा कहीँ पनि छैन ।’
त्यस्तै समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई ‘वैचारिक दृष्टिकोणले उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल’ भनेको छ । तर, नेपालको कम्युनिस्ट आन्दोलन ‘कुहिरोको काग जस्तो’ बन्न पुगेको भनेर दस्तावेजमा उल्लेख गरिएको छ ।
‘पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिस्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको छ’, दस्तावेजमा भनिएको छ, एकातिर उनीहरुले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन्। अर्को्तिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ ।’
समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी (राजपा)सँग आफ्ना केही एजेण्डा मिल्नेसमेत जनाएको छ । ‘राष्ट्रिय जनता पार्टी राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल हो’, दस्तावेजमा भनिएको छ, ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् र पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ ।’
‘समाजवादी थप एक थान पार्टी हैन । हुनु हुँदैन । हुन सक्दैन । यो पार्टीसंग उत्पीडित राष्ट्रियताको मुक्ति र शोषितपीडित जनसमुदायको भाग्य र भविष्य जोडिएको छ । यो पार्टीसँग जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, आदिवासीरजनजाति, थारु, खस, मुस्लिम, शिल्पीरदलित, महिला आदि आन्दोलनको गौरव र विरासत जोडिएको छ’, उनले समाजवादी पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गर्दै भनेका छन्, ‘तसर्थ समाजवादी पार्टी असफल हुने सुविधामा बनेको पार्टी हैन । यो पार्टी असफल भएमा पार्टी मात्र हैन, देश नै असफल हुनेछ । जस्तो कि अहिले भइरहेको छ ।’




प्रतिक्रिया