काठमाण्डु – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
आइतबार राजधानीमा आयोजित जसपाको प्रदर्शनलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउलान र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा नपर्न कांग्रेसलाई आग्रह गरेका हुन् । उनले चुनाव भ्रममात्रै भएको जिकिर गरे ।
‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ, सरकार चलाउँछ भन्ने भ्रममा नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन् ? हामीले भाग लियौं ? लिएनौं ।’
त्यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन् ।
‘ओलीले प्रचण्ड र माधव नेपाललाई गोदेकोगोदै छन् । अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ ?,’ उनले भने ।
उनले अदालतबाट संसद पुनस्र्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन नसकेको बताए ।
‘अदालतबाट आशा त गरौं, भर गर्ने ठाउँ छैन’ भट्टराईले भने, ‘किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’
डा. भट्टराईले आफू प्रधानमन्त्री हुँदा १२ वटा मन्त्रालय खाली हुँदा पनि मन्त्र नियुक्त नगरेको स्मरण गरेका छन् ।
‘मेरो पालामा १२ वटा मन्त्रालय खाली थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ ।’




प्रतिक्रिया