काठमाण्डु – गोरखा–२ बाट निर्वाचन लड्ने तयारी गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन गर्ने दाबी गरेका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक रहेका भट्टराईले आफूलाई गोखरा–२मा रास्वपाको सहयोग पनि रहने बताए ।
गोरखा बजारमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूले रुपान्तरणकारी र सेवाको राजनीति गरेको बताए ।
आवश्यक पर्दाखेरी आफूले जुनसुकै अवस्थामा पनि राजनीतिक योगदान गर्ने उनले बताए । उनले कर्तव्यबोधले आफूलाई जोखिमपूर्ण निर्वाचन लड्न बाध्य बनाएको पनि उल्लेख गरे ।
‘आफ्नो हार जित ठूलो कुरा होइन । जुनसुकै दलमा भए पनि गोरखाली जनताले मत दिनेमा म विश्वस्त छु’, उनले भने ।
गोखरा–२ मा रास्वपाको सहयोग पनि रहने उल्लेख गर्दै भट्टराईले रास्वपाका नेताहरूले ‘हाम्रो अभिभावक तपाईँ हो’ भन्दै आएको पनि बताए ।
सहयोगबारे पछिल्लो समय रास्वपाका नेताहरुसँग कुरा भने नभएको उनको भनाइ छ । ‘रास्वपाका साथीहरुले हाम्रो अभिभावक तपाईँ नै हो भन्ने गर्नुहुन्छ । तपाइँजस्तो अभिभावक प्रतिनिधिसभामा हुनुपर्छ भन्ने कुरा गर्नुभएको छ । मलाई त सबै पक्षका साथीहरुले सहयोग गर्नुहुन्छ जस्तो लाग्छ,’ उनले भने ।




प्रतिक्रिया