काठमाण्डु – गोरखा–२ बाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा. बाबुराम भट्टराईसँग नेकपाले चुनावी तालमेल नगर्ने भएको छ ।
२०६४ को संविधानसभा निर्वाचनमा सबेभन्दा धेरै मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गरेका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई यसपटक आफ्नो पुरानो विरासत जोगाउने चुनौती छ ।
आफ्नो जितको सम्भावना बलियो बनाउने उद्देश्यले भट्टराईले चुनावी सहकार्यका लागि नेकपासँग गरेको प्रयास तुहिएको छ ।
यही प्रयासको क्रममा भट्टराईले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचणडलाई पनि भेटे। भट्टराईले २०७९ को निर्वाचनमा प्रचण्डलाई आफ्नो क्षेत्र छोडेका थिए। त्यसैले यसपटक आफूलाई समर्थन गर्न उनले संयोजक प्रचण्डलाई आग्रह गरेका थिए ।
तर प्रचण्डबाट चित्तबुझ्दो आश्वासन नआएपछि भट्टराईले गोरखा–२मा नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेलाई पनि तालमेलको लागि प्रस्ताव गरेका हुन् ।
तर न्यौपानेले भने आफू धेरै अगाडि बढिसकेको भन्दै प्रस्ताव अस्वीकार गरेका छन्। न्यौपाने माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहिसकेका छन्। विगतमा न्यौपाने भट्टराईकै कार्यकर्ता थिए।
यहाँ एमालेबाट चक्रे मिलन र रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्।
भट्टराईले न्यौपानेलाई उम्मेखवारी फिर्ता दिनआग्रह गरेको भए पनि न्यौपाने भने पार्टीका स्थानीय नेता कार्यकर्ताको आफूलाई बलियो समर्थन रहेको भन्दै पछि हट्न तयार भएका छैनन् ।




प्रतिक्रिया