बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२बाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् ।

सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उनले उम्मेदवारी फितां दिएका हुन् । यसअघि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईले घोषणा गरेका थिए ।

भट्टराईको सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिने निर्णय भएको हो ।

रास्वपाले यो क्षेत्रमा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी मैदानमा उतारेको छ । बुर्लाकोटी यही क्षेत्रबाट यसअघिको निर्वाचनमा पनि सहभागी भएर प्रचण्डसँ पराजित भएका थिए । एमालेबाट चक्रे मिलन उम्मेदवार छन्।

भट्टराई यसअघि गोरखा २ बाट निर्वाचित भइसकेका हुन् । तर २०७९ निर्वाचनमा भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवार नहुने बताएका थिए ।

उम्मेदवारी फिर्ता लिँदै भट्टराईले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने बताएका छन् ।
उनले आफू निरन्तर जनताको सेवामा लागिरहने उल्लेख गर्दै भने, ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको पनि उनले स्पष्ट पारेका छन् ।


‘मैले जीवनभरिको जुन अभिष्ट हो, संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्था हो । चुनौती थपिएका छन्, तीनको व्यवस्थापन गर्नुछ,’ उनले भनेका छन्, ‘मुख्य रुपमा देशमा तीव्र आर्थिक विकास र समृद्धिको आधारको रुपमा अघि बढ्नुछ । मैले सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्ने देशको अभिभावकीय भूमिका निर्वाह गर्नु ठिक हुन्छ भनेर फिर्ता लिने निर्णय गरेको छु ।’