काठमाण्डु – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२, १३ र १४ (फागुन २८–३०) सम्म सञ्चालन हुने उच्चस्तरीय सम्मेलनमा डा. भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुन लागेका उनको सचिवालयले जनाएको छ ।
विश्वभरका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य र वातावरण जस्ता बहुआयामिक विषयमा गहन छलफल हुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा रहने सम्मेलनलाई वर्तमान विश्वका चुनौती र सहकार्यको एउटा महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।
सम्मेलनअन्तर्गत मार्च १४ शनिबार बिहान १०:०५ बजे आयोजना हुने ‘आर्टिफिसियल इन्टेलिजेन्सको युगमा लोकतन्त्र: डिजिटल सुशासन र युवा’ शीर्षकको सत्रमा डा. भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा उनले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासनको पद्धति र भविष्यको कर्णधार मानिने युवा पुस्ताको भूमिकामा पार्ने प्रभावबारे आफ्ना धारणा राख्नेछन् ।
३ दिने भ्रमणका क्रममा विभिन्न देशका प्रतिनिधि तथा विज्ञहरूसँग भेटघाट र छलफल गरी डा. भट्टराई आगामी शनिबार नै स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।




प्रतिक्रिया