काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लकडाउनको बेला पनि सक्रिय छन् ।
सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न लकडाउन गरेसँगै नेताहरुको दैनिकी पनि फेरिएको छ । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका डा. भट्टराई नियमित समयतालिकाअनुसार नै लकडाउनको पालना गरिरहेका छन् ।
सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डा. भट्टराईले नियमित व्यायाम गर्नेदेखि पुस्तक पढ्ने, चलचित्र हेर्नेलगायतका काम गरेर दिन बिताउने गरेका छन् ।
बिहान उठेर नित्यकर्मपछि विभिन्न व्यायाम, जगिङ र योगाका केही आसनहरु गर्ने प्राणायाम गर्छन् डा भट्टराई । त्यसपछि उनी पत्रपत्रिका टिभीमा समाचार पढ्ने र सुन्ने गर्छन् ।
‘मेरो सुरुदेखिै बानी छ बिहान पत्रपत्रिका, टिभी र अनलाइनका समाचार हेर्ने । अहिले पनि म एक–डेढ घन्टा समय समाचार हेरेर बिताउँछु,’ डा. भट्टराईले भनेका छन् ।
डा. भट्टराई बिहान आठ बजे ब्रेकफास्ट लिन्छन् भने दिउँसो ११ बजे दाल भात तरकारी खान्छन् । र दिउँसो चार बजे हल्का नास्ता गर्छन् । बेलुका एउटा सुख्खा रोटी र अलिकति साग खान्छन् । ‘म राजनीतिक प्राणी भएको हुनाले यो बन्दाबनदकिो अवस्थामा देशमा कहाँ के भइरहेको छ भन्ने विषयमा रुची राख्दछु । त्यसपछि प्रविधिको सदुपयोग गर्दै नेताहरुसँग फोनमा केही समय बिताउँछु ’डा. भट्टराई भन्छन् ।
डा. भट्टराई आफू बाँकी रहेको समय पढाईमा व्यतित गर्ने गरेको बताउँछन् । उनले अहिले ३–४ वटा पुस्तक एकैसाथ पल्टाइरहेका छन् । बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’ विषयक पुस्तक आधाउधि पुर्याएको उनले जानकारी दिएका छन् ।
डा. भट्टराई घरमै बसेर इन्टरनेटमा चलचित्र पनि हेरिरहेका छन् । उनी भन्छन्, ‘हिसिलाजी र मेरो एउटै स्वाभाव के छ भने हामीलाई मनोरञ्जन पनि गर्नुपर्छ । त्यसैले मनोरञ्जनका लागि राम्रा फिल्म छानेर हेर्छौं । फिल्म हेर्दा छोरी पनि सँगै बस्छिन् ।’
डा. भट्टराईले सबैले आआफ्नो व्यक्तिगत रुची र पारिवारिक परिवेशअनुसार दिनचर्या बताए । शरीर र मनलाई सक्रिय राख्न नसके तनाव सिर्जना हुने र मनोरोग निम्तिन सक्ने उनको चेतावनी छ ।
‘घरमै बसौं । आफ्नो स्वास्थ्यको ख्याल राखौं । र अरुमा रोग नसर्नका लागि योगदान गरौं,’ डा. भट्टराईले भनेका छन् ।




प्रतिक्रिया