काठमाण्डु – जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेमा छन् ।
संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय आउँदा आफ्नो रोग निको भएझैं भएको प्रतिक्रिया दिएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मंगलबार ट्वीटरमार्फत सहमतिमा चुनावी सरकार बनाउने प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा बिघटनलाई नेता भट्टराईले प्रतिगमन भन्दै आएका थिए ।
संसद अधिवेशन आह्वान भई बैठक बस्ने समय नजिकिदै जाँदा उनले भारतकै लाइनअनुसार सहमतिमा चुनावी सरकार गठनको प्रस्ताव गरेका हुन् । भट्टराईको यो तर्कले सहमतिबाहेक बर्तमान प्रतिनिधिसभाबाट अर्काे सरकार बन्न सक्ने अवस्था नरहेको निश्कर्षमा पुगेको देखाउँछ ।
उनले लेखेका छन्, ‘अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति हो, बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैं एकपटक ‘फर्गिभ एण्ड फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै काम गरौं ।’
भारतबाट दश दिनपछि उपचार गरेर मंगलबार मात्र स्वदेश फर्किएका भट्टराईले योसहित अन्य ५ प्रस्ताव पनि राखेका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत शान्ति प्रकियामा बाँकी काम पूरा गर्नुपर्ने पनि उनको प्रस्ताव छ ।
यस्तै भट्टराईले सहमतिको सरकारले सहमतिले संविधान संशोधन, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन, समावेसी समृद्धिको बृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्नुपर्ने, बदलिदो भूराजनीतिलाई ध्यान दिँदै भारत, चीन, अमेरिकासँग असल सम्बन्ध बनाउनुपर्ने भट्टराईको धारणा छ ।




प्रतिक्रिया