काठमाण्डु – जसपाका नेता एवंम् पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जसापाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएकोमा विरोध जनाएका छन् ।
उनले ट्वीट गर्दै संविधान जारी हुंदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घांटी कसरी जोडियो भन्ने प्रश्न गरेका छन् । भट्टराईले भारततर्फ संकेत गर्दै नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहां जोडिएको रहेछ भनेर प्रष्ट भएको दावी गरेका छन् ।
उनले भनेका छन् ‘ यक्ष प्रश्न–संविधान जारी हुंदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहां जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष भने प्रधानमन्त्री ओली विरुद्धको गठबन्धनमा सहभागी छ ।




प्रतिक्रिया