काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ । मतदानको क्रममा स्वस्तिक छाप लगाइसकेको मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनका क्रममा भटट्राईले पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका थिए । उनले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक तस्बिरमा भट्टराईले जसपा नेपालको चुनाव चिन्ह ‘छाता’ मा मत दिएको देखिन्छ । जसमध्ये उनले नगर उपप्रमुखबाहेकका जसपाका उम्मेदवारलाई मत दिएका छन् ।
निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ। मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।
त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ । तर, डा. भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।





प्रतिक्रिया