चुनाव नलड्ने बाबुरामको संकेत, गोरखा २ मा श्रेष्ठले पाउलान् टिकट ?

चुनाव नलड्ने बाबुरामको संकेत, गोरखा २ मा श्रेष्ठले पाउलान् टिकट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले चुनावी मैदानमा नउत्रिने संकेत गरेका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा आफू सहभागि नहुने संकेत गरेका हुन् ।

उनले बिहीबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा सबैले सँधै चुनाव लड्नै पर्छ ? भन्दै प्रश्न गरेका छन् । उनको यही प्रश्नबाट बुझ्न सकिन्छ की उनी यसपालि चुनावी मैदानमा उत्रिने मनस्थितिमा छैनन् ।

त्यस्तै डा. भट्टराईले समाज रूपान्तरण, विकास, समृद्धि र समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावसम्मको बाटोमा मात्र हिडेर नहुने बताएका छन् ।

‘के सबैले सँधै चुनाव लड्नैपर्छ ? समाज रूपान्तरण, विकास, समृद्धि, समुन्नत समाजवाद निर्माणको राजनीतिक यात्रा गर्नेहरूले चुनावदेखि चुनावसम्मको बाटो मात्र हिडेर हुन्छ ? सडक सदन सरकारको क्षेत्रबाट एकीकृत संघर्ष गर्दै समुन्नत समाजवादको दिशामा जाने हो भने नेतृत्वको मूल टिमको कार्यविभाजन पनि सोही अनुरूप गर्नु आवश्यक नहोला र ?,’ उनले फेसबुकमा लेखेका छन् ।

शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा प्रचण्डले बाबुरामसँगको यात्रा लामो हुने बताएका थिए ।  उनले आफूहरु एक ठाउँमा उभिएर समृद्धि र विकासको नयाँ मोडल दिनुपर्ने दावी गरेका थिए ।

प्रचण्डको अभिव्यक्तिप्रति लक्षित गर्दै डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘क. प्रचण्ड र म जीवनको अन्तिम कालखण्डमा पुनः एकचोटि नयॉ उचाइमा उठेर सहकार्य गर्न यस्तै यस्तै छलफल गरिरहेछौंतपाईँहरूको सल्लाह सुझाव अपेक्षित छ ।’

२०७४ को चुनावमा सबैभन्दा बढी रोचकको रुपमा हेरिएको क्षेत्र मध्ये गोरखा २ पनि एक हो ।  ०७४ मा डा. भट्टराई गोरखा २ बाट भारी मतले विजयी भएका थिए । त्यसबेला  लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई र वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । बाबुराम भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भए ।

उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका थिए ।  श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए । आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा पनि उक्त क्षेत्रलाई चासोका साथ हेरिएको छ ।  बाबुरामले चुनाव नलड्ने संकेत गरिरहेका बेला सत्ता गठबन्धनको बैठकमा नेता श्रेष्ठले गोरखा २ नेकपा माओवादी केन्द्रले पाउनुपर्ने अडान राखेका छन् । 

सो क्षेत्रमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपानेलगायत उम्मेदवारका लागि सिफारिस छन् ।  त्यसैगरी यता नेपाली कांग्रेसले पनि उक्त क्षेत्र  पाउनु पर्ने अडान राखेको छ । गोरखा २ मा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको एकल नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।

नेपाली कांग्रेसका नेताहरुले यसपालि सो क्षेत्र आफूहरुले पाउनुपर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिइरहेका छन् । तर, माओवादी नेता श्रेष्ठले गोरखा २ मा आफूले उम्मेदवारी दिन पाउनुपर्ने दावी गरेका छन् ।