काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको बताएका छन् । बुधबार प्रतिनिभिसभाको बैठकमा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् ।
उनले भने, सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनीरहेको छु ।’ ‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन्, भट्टराईले भने, ‘यो विषयमा छुट्टै छलफल होस् ।’
साथै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मातातीर्थ र ललितानिवास जग्गा प्रकरण फरक मुद्दा भएको भन्दै आफ्नो सरकारको पालामा नीतिगत र विधिसम्मत ढंगले मातातीर्थको जग्गा वितरण भएको दावी गरे । उनले राजनीतिक र कानुनी रुपमै आफूले निर्णय गरेर उक्त जग्गा वास्तविक मोहीलाई वितरण गरिएको प्रष्टीकरण दिए ।
भट्टराईले राजा महेन्द्रले सूचना जारी गरेर हकपरित्याग गरेको रेकर्ड रहेको भन्दै त्यसवेला रैकर भएको जग्गा पुनः टाठाबाठाहरुले २०४६ सालमा फेरि राजाका नाममा दर्ता गरेको पाइएको जानकारी दिए । उनले सोझासाझा जनताले दर्ता गर्न नसकेको अवस्थामा आफूले उक्त जग्गा पुनः मोहीहरुलाई दिएको बताए ।
आफ्नो मन्त्रिपरिषद् बैठकले मातातीर्थ लगायतका क्षेत्रमा मोहीले कमाएको जग्गा उनीहरुलाई दिने निर्णय गरेको सत्य भएको भन्दै त्यो वर्तमान सरकारलाई ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किदा पनि तर्सिए’ जस्तै भएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले ललिता निवासको जग्गा प्रकरण भूमाफियाहरुको योजनामा ‘लुट’ नै भएको भन्दै ललितानिवास प्रकरणसँग मातातीर्थको जग्गा प्रकरण जोड्न नमिल्ने बताए ।
मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते प्रधानमन्त्रीले संसदमा चर्चा गरेका थिए । भट्टराईले त्यसदिन मातातीर्थको १७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको भन्दै छानविन गर्ने बताएका थिए । उनले प्रधानमन्त्रीले मातातीर्थको जग्गा प्रकरणबारे फागुन ३ गते संसदमा चर्चा गरेपछि स्थानीयलाई भेट्न आफै मंगलबार मातातीर्थ पुगेको पनि बताए ।




प्रतिक्रिया