कोरोनाको खोप पनि मागेर लगाउनुपर्ने अवस्था आयो: बाबुराम भट्टराई

कोरोनाको खोप पनि मागेर लगाउनुपर्ने अवस्था आयो: बाबुराम भट्टराई


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसविरुद्धको खोप मागेर ल्याउनु पर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

भारत सरकारले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज भ्याक्सिन अनुदानमा उपलब्ध गराउने भएपछि डा भट्टराईले सामाजिक सञ्जालमार्फत खोप पनि मागेर ल्याउनुपर्ने अवस्था आएको भन्दै टिप्पणी गरेका हुन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे ! बाँकीलाई कहिलेसम्म होला, कता हात थाप्ने होला ? फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ ! ।’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप आज नेपाल आइपुग्दैछ । नेपालको जनसंख्याको ३ प्रतिशतलाई पहिलो चरणको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा आउने खोप कोभिड विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स तथा अन्य व्यवस्थापनमा खटिएकालाई दिइने मन्त्रालयले जनाएको छ ।