काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजना नेताहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
दुई दिनदेखि वीरगञ्जमा बसेको कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकले काठमाण्डुमा भट्टराईले बोलाएको बैठकमा सहभागी भएका ९ नेतालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले कार्यकारिणी सदस्यहरु डा. भट्टराई, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रमेश यादव, डम्बर खतिवडा, गोविन्द चौधरी र महिन्द्र राय यादवलाई पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए । उनीहरुलाई पार्टी अनुशासन उलंघन आरोपमा जिम्मेवारीबाट हटाउने निर्णय भएको हो । त्यस्तै बैठकले संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादवसँगको विवादले पार्टी विभाजनतिर गइरहँदा डा. भट्टराईले मंगलबार कोटेश्वरको जडिबुटीस्थित एक पार्टी प्यालेसमा आफ्नो पक्षको बैठक राखेका थिए । अल्पमत कार्यकारिणी सदस्यसँगै उक्त बैठकमा अल्पमत केन्द्रीय सदस्य मात्रै सहभागी भएका थिए ।




प्रतिक्रिया